
६ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन्।
यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले भोलि बिहीबारबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ।
एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ। यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ।
कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रीपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो मन्त्री नेम्वाङले आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताए। उनले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गरे ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो। यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडा दरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ।