२९ असार २०८३, सोमबार

स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने

स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने

जुम्लाका आठवटै स्थानीय तहमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच शय्याको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि यहाँका स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणमा जुटेका हुन् ।  

अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा रु १० लाखका दरले बजेट निकासा भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक गशेषबहादुर शाहीले बताए ।

उनले भने, “प्रत्येक अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था हुनेछ”, उहाँले भन्नुभयो, “यसका लागि खुल्ला प्रतिस्पर्धाबाट स्थानीय तहले जनशक्ति पदपूर्ति गर्नेछन् ।” 

जिल्लाका तिला, हिमा, सिञ्जा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिमा पाँच शय्याका कोभिड अस्थायी अस्पताल निर्माण हुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

पाँचवटा स्वास्थ्य चौकी भवन निर्माण हुँदै 

यहाँको तिला गाउँपालिकाका पाँच वडामा स्वास्थ्य चौकी निर्माण हुने भएका छन् । सङ्घीय सरकारको बजेटले सो गाउँपालिकाको वडा नं. १, ४, ५, ७ र ९ वडामा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए ।

एक वडामा एक स्वास्थ्य चौकी र गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले रु एक करोड ९४ लाख ३० हजारमा पाँच वटा भवन निर्माण गर्न लागेको गाउँपालिका इञ्जीनीयर जनक रोकायाले बताए ।

उनले भने, “एउटा भवन निर्माणका लागि रु ३८ लाख ८६ हजार रकम विनियोजन भएको छ ।”

तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी स्वास्थ्य चौकी भवन निर्माण हुने उनले बताए ।

उनका अनुसार गत असार २२ गते बोलपत्र प्रकाशित भएपछि परेका आवेदनलाई एक हप्ताभित्र छनौट गरी निर्माण कार्य अघि बढ्नेछ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्