१३ असार २०८३, शनिबार

बुटवलका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई प्रवल जनसेवा श्री (चतुर्थ)

बुटवलका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई प्रवल जनसेवा श्री (चतुर्थ)

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा प्रवल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित भएका छन् । उनलाई सरकारले संविधान दिवसको अवसरमा उक्त मानपदवीबाट सम्मान गर्ने घोषणा गरिएको हो ।  

प्रमुख प्रशासकीय अधिकृतका रुपमा यो पदकबाट सम्मानित हुनेमा उनी मुलुकका ७५३ पालिकाहरु मध्येबाट एक्लो हो । बुटवल उपमहानगरपालिकामा एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत शर्मा कुशल प्रशासकका रुपमा चिनिन्छन् । 

०४४ असार ७ गते जिल्ला प्रशाशन कार्यालय मुस्ताङमा लेखापलका रुपमा सेवा प्रारम्भ गरेका थिए । त्यसयता विभिन्न जिम्मेवारी र भूमिकामा रहेर उनले धेरै जिल्लामा काम गर्दै आएका छन् ।  

बुटवलमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनु अघि दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसअघि उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा थिए । त्यहाँ रहँदा उहाँले वातावरणको क्षेत्रमा प्रभावकारी काम गरेका थिए ।

‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ तयार पार्ने कामको नेतृत्व शर्माले नै गरेका थिए । यो प्रारुप हाल महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ । यसलाई कार्यान्वयन गर्न सकेमा वातावरणमैत्री विकास र जैविक विविधताको संरक्षणमा महत्पूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

शर्माले दिगो विकासका बारेमा पनि गहिरोसंग अध्यय्न गरेका छन् । स्वीटजरल्याण्ड र जर्मनीमा पर्वतीय दिगो विकास विषयमा उनले करिब एक वर्षको कोर्ष पूरा गरेका छन् । वातावरण, दिगो विकास र सहरी विकासका विषयमा विभिन्न देशमा तालिम तथा प्रशिक्षणसमेत लिएका थिए ।

‘यहीँ कोर्षको अध्यय्नपछि दिगो विकासका लागि वातावरणको संरक्षण, वातावरणमैत्री विकास र मानव जीवनका लागि वातावरणको महत्वका विषयमा केही गर्ने हुटहुटी जागेको थियो’, शर्माले भने, ‘मन्त्रालयमा बसेर प्रारुप तयार पार्दै त्यसलाई सदुपयोग गर्ने मौका पाएँ र अहिले कार्यान्वयनको चरणमा पनि काम गर्न पाएको छु ।’

सम्मानले आफुलाई सेवाप्रवाहमा थप खटेर लाग्न प्रेरणा मिलेको र जनप्रतिनिधि, कर्मचारीको सहकार्यमा समृद्ध बुटवल, सुखी जनताको संकल्प साकार पार्ने काममा अझ हौसला मिलेको प्रतिक्रिया दिए ।

salt training

कमेन्ट गर्नुहोस्