१० असार २०८३, बुधबार

बेलायतमा कोरोनाको दोस्रो लहर, वयस्कहरूमा संक्रमण बढी

असोज ४, २०७७
बेलायतमा कोरोनाको दोस्रो लहर, वयस्कहरूमा संक्रमण बढी

कोरोना भाइरस (कोभिड–१९) बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा दोस्रो लहर सुरु भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर (वेभ) आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले संक्रमण रोक्नका लागि अलिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।

संक्रमण नियन्त्रणका लागि सरकारले अघिल्लो सोमबारदेखि ६ जनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाएको छ । अघिल्लो दिन स्वास्थ्यमन्त्री म्याट ह्यानककले राष्ट्रव्यापी लकडाउन गर्ने सरकारको चाहना नभए पनि आवश्यक परे उक्त विकल्पका लागि पनि तयार रहनुपर्ने बताएका थिए । यसअघि बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण हजारौंको ज्यान जान सक्ने चेतावनी दिइसकेका छन् । दुई सातायता संक्रमण बढ्न थालेपछि इंग्ल्यान्डमा कतिपय क्षेत्रमा कडा प्रतिबन्ध सुरु भइसकेको छ ।

नर्थ इस्ट इंग्ल्यान्डमा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि थप कडाइ गरिएको छ । सरकारी घोषणाअनुसार गत बिहीबार मध्यरातदेखि त्यस क्षेत्रका करिब २० लाख मानिस अर्को परिवारसँग घुलमिल हुन वञ्चित भएका छन् ।

बार, पबका लागि १० बजेपछि कर्फ्यु लगाइएको छ । बीबीसीका अनुसार अहिले बेलायतको जनसंख्यामध्ये पाँचमा एक अर्थात् १३ दशमलव ५ मिलियन मानिसले सरकारको कडा नियम सामना गरिरहेका छन् ।

बेलायतमा गत शुक्रबार पछिल्लो २४ घण्टामा साढे ४ महिना (८ मे) यताकै सबैभन्दा बढी संक्रमित थपिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ को तथ्यांकअनुसार थप ४ हजार ३ सय २२ जना नयाँ संक्रमित थपिएका हुन् । २४ घण्टाभित्र २७ जनाले ज्यान गुमाएका छन् ।

बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरूले संक्रमण प्रत्येक साता दोब्बर बढिरहेको बताएका छन् । यही दरले संक्रमण बढ्ने हो भने दैनिक ६ हजार र अक्टोबर मध्यसम्म एक लाख बढी पुग्ने चेतावनी उनीहरूको छ । बेलायतमा हालसम्म ३ लाख ८५ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म मृतक संख्या ४१ हजार ७ सय ३२ छ ।

पछिल्ला दिनमा बेलायत सरकारलाई बढ्दो परीक्षणको माग पूर्ति गर्न पनि संघर्ष भइरहेको छ । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टेस्ट एन्ड ट्रेस प्रमुख डिडो हार्डिङले बहुसंख्यक मानिस ‘कोभिड–१९’ परीक्षण चाहिरहेका तर सम्भव नभएको स्विकारेका छन् । संसद्मा बोल्दै उनले परीक्षण गर्न सरकारको क्षमताभन्दा ४ गुणा बढी माग रहेको बताएका थिए । वैज्ञानिकहरूले सरकारले परीक्षणको दायरा बढाई भाइरस ‘ट्र्याक’ गर्न असमर्थ हुने हो भने दोस्रो लकडाउन आवश्यक हुने चेतावनी दिइसकेका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिंखडा अहिले बेलायतमा वयस्कहरू बढी संक्रमित भएको बताउँछन् ।

‘शैक्षिक संस्थान खुलेपछि अधिकांश वयस्कमा संक्रमण पाइएको छ । उनीहरूले वृद्धवृद्धालाई सार्ने जोखिम बढी रहँदा अवस्था भयावह हुन सक्छ’, डा. सिंखडाले कान्तिपुरसँग भने, ‘चिसो मौसम, ह्युमिडिटी र नन भेन्टिलेटेड बसाइले मानिसमा संक्रमण छिटो भइरहेको छ । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्