२८ जेठ २०८३, बिहीबार

युरोपमा कोरोनाको दोस्रो लहर, कहाँ भयो गल्ती ?

असोज ४, २०७७
युरोपमा कोरोनाको दोस्रो लहर, कहाँ भयो गल्ती ?

कोरोना संक्रमण तथा मृत्युको पहिलो लहरलाई नियन्त्रण गरेको युरोप अहिले यसको दोस्रो लहरमा फसेको छ । जाडो आउन लाग्दा कोरोनाको दोस्रो लहर देखिएपछि कहाँनिर गल्ती भयो भनी प्रश्न उठाइन थालिएको छ । 

युरोपेली संघ र बेलायतमा कोरोनाका दैनिक केसहरू ४५ हजारभन्दा बढी देखिन थालेको युरोपियन सेन्टर फर डिजीज प्रिभेन्सन यान्ड कन्ट्रोलले जनाएको छ । भर्खर खुल्न थालेका ठाउँमा पनि पुनः नियन्त्रण लगाइँदैछ । 

आगामी केही महिनामा अस्पतालहरूमाथि दबाब पर्ने र देशभरि लकडाउन लगाउनुपर्ने स्थिति आउने भनी त्यहाँका नेताहरूले चिन्ता व्यक्त गरेका छन् । 

युरोपमा विगत ७२ दिनदेखि मृत्युदर स्थिर छ तर बुल्गेरिया, क्रोएसिया, माल्टा, रोमानिया र स्पेनमा मृत्युदर बढिरहेको छ । 

गर्मीको छुट्टी सकिएर कामदारहरू शहर फर्केको अनि विद्यार्थीहरू पुनः विद्यालय जान थालेकोले कोरोनाको केस बढेको मानिएको छ । अनि नियन्त्रण खुकुलो बनाइएकाले मानिसहरू अलिक लापरवाह बनेकाले केस बढेको हुन सक्ने विश्व स्वास्थ्य संगठनको कथन छ । युरोपमा कोरोनाको दोस्रो लहर आउनुमा युवाहरू जिम्मेवार रहेको प्रमाणहरू फेला परेका छन् । 

केस बढ्दै गएको भए पनि अमेरिकाको तुलनामा युरोपको स्थिति राम्रै छ । 

बेलायतमा कोरोनाका कारण युरोपमै सबभन्दा बढी ४० हजार मृत्यु भए । यसै साता बेलायतभरि सामाजिक भेलामा नयाँ नियन्त्रण कायम गरियो । 

स्पेनमा पनि दिनको १० हजारभन्दा बढी केस देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

फ्रान्समा शुक्रवार १३ हजार २१५ नयाँ केस देखिएको त्यहाँको नेसनल हेल्थ एजेन्सीले जनायो । त्यहाँको एक प्रमुख शहरमा रहेका अस्पतालमा आईसीयू शय्याहरू भरिभराउ छन् । 

विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक हान्स क्लुगले सामाजिक नियन्त्रण खुकुलो बनाइएकाले अनि मानिसहरू बेपरवाह बनेकाले पनि केस बढेको बताए । 

युवाहरूमा कोभिडको केस बढी देखिन थालेकोमा उनले चिन्ता व्यक्त गर्दै ठूला भेला र पार्टीहरू नगर्न सल्लाह दिए । 

धेरैजसो मुलुकमा कोरोनाका केस घना शहरहरूमा देखिएको पाइएको छ । मानिसहरू कार्यालय, विद्यालय र सार्वजनिक स्थानमा फर्किन थालेपछि केस बढेका हुन् ।
 

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्