१४ असार २०८३, आइतबार

मध्य सोलु हाइड्रोपावरको काम दशैंअगावै शुरू हुने

मध्य सोलु हाइड्रोपावरको काम दशैंअगावै शुरू हुने

सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशैंअगाडि नै शुरु हुने भएको छ ।

सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य शुरु हुने जानकारी दिइयो । 

आयोजनाबाट नगरपालिकाका वडा नं ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने लगानीकर्ता रमेशराज गौतमले जानकारी दिए ।

छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका थिए ।

स्थानीय नागरिकलाई खबरै नगरी सार्वजानिक सुनुवाइ गरिएको भन्दै सोलुदूधकुण्ड नगरपालिका­६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आपत्ति जनाएका थिए ।

आयोजनाको काम गत फागुनमा शुरु हुनुपर्ने भएपनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ ।

प्रति मेगावाट रु.१५ करोड लागत अनुमान गरिएको सो आयोजना सन् २०२३ को अगष्ट ३० मा सक्ने गरी सम्झौता गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलगायत बैंकको ऋण सहायता रहने बताइएको छ ।

नुम्बुर हिमालको काखबाट बग्ने सोलुखोलामा अहिले १९.२ मेगावाटको बेनी हाइड्रो पावर, ८२ मेगावाटको तल्लो सोलुखोला, २३.५ मेगावाटको माथिल्लो सोलु खोला र ८६ मेगावाटको सोलु दूधकोशी आयोजना निर्माण भइरहेको छ ।

उक्त आयोजनामध्ये २३.५ मेगावाटको माथिल्लो सोलु खोलाको काम सकिएको छ भने अन्य आयोजनाले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्