
सरकारले बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले २ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । यो वर्षको बाढीपहिरोले २ जिल्लामा मात्रै १०६ जनाको मृत्यु भएको छ । ५६ जना बेपत्ता छन् भने २२ जना घाइते छन् । १ दर्जनभन्दा बढी बस्ती क्षतिग्रस्त भएका छन् ।
सिन्धुपाल्चोकमा ७१ जनाको मृत्यु भएको छ । ४० जना बेपत्ता र १५ जना घाइते छन् । लिदी, बाह्रबिसे, मेलम्ची, भोटेकोसीलगायत ५ वटा बस्ती नै बाढीपहिरोले क्षतिग्रस्त बनाएको छ ।
बागलुङको ढोरपाटनमा मात्रै २२ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन् । बागलुङमा कूल ३५ जनाको मृत्यु भएको भएको छ । १६ बेपत्ता र ७ जना घाइते भएका छन् ।
दुवै जिल्लाको सार्वजनिक र निजी आवासमा ठूलो क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका प्रमुख उपसचिव गणेश शाहीले २ जिल्लामा ठूलो धनजनको क्षति भएको कारण विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको जानकारी दिए ।
‘हामीले सिफारिस गरेका थियौं, मन्त्रिपरिषद्ले निर्णय गरेछ,’ उनले भने, ‘त्यहाँ तत्काल सार्वजनिक पूर्वाधार र निजी आवासको पुनर्निर्माणले प्राथमिकता पाउँछ ।’ उनका अनुसार भत्किएका निजी घर सुरक्षित स्थान व्यक्तिको इच्छाअनुसार निर्माण गर्न पाउने गरी सरकारले अनुदान दिनेछ । भूकम्प पीडितले पाएअनुसार नै बाढीपहिरो पीडितले अनुदान पाउनेछन् । शहरी विकास मन्त्रालय कार्यविधिअनुसार खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गरी बस्ती स्थानान्तरणसमेत गर्न सक्छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।