
भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मंगलवारदेखि प्रयोगशाला बन्द भएको छ ।
भरतपुरमा संकलन भएका नमूना काठमाडौं पठाउन थालिएको छ ।
प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमवार रिएजेन्ट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । मंगलवार मात्र ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको अधिकारीको भनाइ छ ।
प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो । जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पीसीआर परीक्षण गर्दै आएका छन् । ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ ।
गत चैत २२ गते शुरू भएको प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ । चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि भरतपुर पठाइने गरेको छ ।