१९ असार २०८३, शुक्रबार

कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल

असोज ७, २०७७
कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल
फाइल फोटो

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् ।

झापाको बिर्तामोडमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे ।

उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए ।

‘नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन,’ मन्त्री भुसालले भने, ‘कृषकले उत्पादन गरेको हरेक वस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जानेछ ।’
 
कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको २–३ वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राखे । उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट सुशासनको काम शुरू गरेको बताए ।
 
सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुसालले सरकारका जुनसुकै कार्यक्रमहरू अहिलेको संविधान बमोजिम नै अघि बढेको बताए । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताए । ‘सरकार अगाडि बढ्न सरकारको टीकाटिप्पणी आवश्यक छ,’ मन्त्री भुसालले भने, ‘यो सरकार संविधानभित्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठीक ढंगले सञ्चालन भइरहेका छन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्