काठमाडौं, २४ बैशाख– प्रधानन्यायाधीश सुशील कार्कीमाथि महाभियोग लगाइएपनि सर्वोच्च अदालतले त्यसलाई अघि नबढाउन आदेश दिएसँगै उत्पन्न भएको समस्या समाधान गर्ने प्रयासस्वरुप आइतबार साँझ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले महाभियोग प्रस्तावलाई तत्काल फिर्ता लिएर सत्तारुढ दलले सहज वातावरण बनाउन पर्नेमा जोड दिएका थिए । महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको द्वन्द्व रहने ओलीको भनाई थियो ।
यस्तै ओलीले एक महिनाको फरकमा चुनाव गर्दा अनेकन जटिलताहरु उत्पन्न हुने भन्दै बजेट दोस्रो चरणको निर्वाचन जेठ १० गतेको आसपासमा चुनाव गर्नुपर्ने धारणा समेत राखेका थिए ।
ओलीले प्रधानन्यायधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिन र दोस्रो चरणको निर्वाचनको
मिति बजेट ल्याउनु भन्दा पहिले जेठ १० को आसपासमा गर्न उचित हुने धारणा बैठकमा राखेको एमाले महासचिव इश्वर पोखरेलले बताए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने महाभियोग प्रस्ताव कुनैपनि हालतमा फिर्ता लिन नहुने भन्दै बरु तत्कालको लागि स्थगत गरेर जान सकिने धारणा राखेका थिए।
ओली र प्रचण्डको फरक फरक धारणा सुनेपछि प्रधानमन्त्री चाहिँ फिर्ता लिने या स्थगन गरेर राख्ने भन्ने दुबै विकल्पमा सकारात्मक बनेको बताइएको छ ।
बैठकमा दोस्रो चरणको निर्वाचनमा राजपा नेपाललाई पनि सहभागि गराउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
महाभियोग प्रस्तावलाई अब कुन रुपमा टुंग्याउने भन्ने विषयमा अन्योलता भएपछि आइतबारका लागि बोलाइएको बैठक चुनाव पछि अर्थात आगामी जेठ ४ गतेको लागि बोलाइएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेको भएपनि सर्वोच्च अदालतले प्रस्ताव अघि नबढाउन आदेश दिएसँगै दलहरु सत्तारुढ दलमै अलमल रहँदै आएको छ ।