
बाराको सिम्रौनगढ नगरपालिका- ९ बसवरिया नहरबाट १ हजार दरका नक्कली नोट १ हजार २ सय १६ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको मोबाइल खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधवार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारागढी गाउँपालिका- ५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय सन्दीपकुमार रहेका छन् ।
प्रहरीले बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट फेला पारेको हो ।
थप अनुसन्धान गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले ती नोट दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मोबाइल लिई फरार भएका व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।