
रौतहटको गौर नगरपालिका– ४ का ५५ वर्षीय अली मियाँ अन्सारी हिजो (बुधवार) बेलुका ८ बजेदेखि कोरोना परीक्षणका लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा लाइन बसेका रहेछन् ।
उनीसँगै ५० वर्षीय मन्सुल अन्सारी पनि लाइनमा भेटिए ।
काठमाडौंको कालीमाटी आसपास क्षेत्रमा साइकलमा कपडा बेचेर जीविकोपार्जन गर्दै आएका अन्सारीद्वय हिजो बिहान गौरबाट काठमाडौं आएका रहेछन् ।
घरबेटीले पीसीआर परीक्षण गरेर नेगेटिभ भएको खण्डमा मात्रै कोठामा बस्न दिने बताएपछि उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क कोरोना परीक्षणका लागि लाइनमा बसेका थिए ।
हिजो बेलुका ८ बजे लाइन बस्दा उपत्यकामा झरि परिरहेको थियो, तर उनीहरूसँग छाता थिएन । दुवै जनाले १५०/१५० उठाएर एउटा छाता किनेर दुवै जनाले त्यसैको सहारामा रात बिताएको उनले लोकान्तरलाई बताए ।

कोठामा कपडा भएकाले उनीहरूले आउँदा थप कपडा ल्याएका थिएनन् । तर कोठामा छिर्न नपाएपछि त्यही भिजेको कपडाले रात गुजार्नुपर्यो ।
‘कपडा ल्याइएन, यति सारो जाडो होला भन्ने पनि थाहा थिएन, रातभरि थरथर काम्दै बस्नुपर्यो,’ अन्सारीले भने, ‘राति छाडेर जाउँ भने कहाँ जाउँ छातामुनि नै जागाराम बस्यौं ।’
रातभरिको झरीले टेकुु अस्पतालको बाहिर पानीको ताल परिरहेको थियो, आधा खुट्टा पानीमै राखेर रात र आजको दिन बितेको मनसुल अन्सारीले बताए ।
‘तल पानीको ताल माथिबाट झरेको झर्यै थियो,’ मनसुलले भने, ‘के गर्नु यस्तो रोग आयो, भोक पनि भन्न नमिल्ने ।’

वीरगञ्ज महानगरपालिका– २ का अरबिन्द साह पनि बिहान २ बजेदेखि लाइनमा बसेका रहेछन् । तर पनि उनको आज पालो आउने छाँट देखिएको छैन, अस्पतालको बरान्डामा नै रात बित्ने पक्का छ ।
बालाजुको गार्मेन्टमा काम गर्दै आएका साह कोरोना महामारीका कारण गत जेठमा घर गएका थिए ।
चाडबाड नजिकिँदै गर्दा गोजी रित्तिएपछि काठमाडौं आएका साहलाई साहुले पीसीआर परीक्षण नेगेटिभ नआएसम्म नआउन भनेपछि लाइनमा आइपुगेका रहेछन् ।

टेकुमा कोरोना परीक्षण गराउने मानिसहरूलाई झरीले पनि छेकेको छैन । २० घण्टासम्म लाइनमा बसेर कोरोना परीक्षण गराइरहेका छन् ।
सरकारले पछिल्लो समयमा लामोदुरीका यातायात र बजार खुलाएपछि उपत्यका आउनेहरूको संख्या बढेको छ ।
तराईका जिल्लाबाट भित्रिएका अधिकांश कोरोना परीक्षणविना कोठा तथा कार्यालयमा छिर्न नपाएपछि टेकुको लाइनमा पुग्ने गरेका छन् ।
लामो समय लाइनमा यसरी बस्नु पर्दा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने खतरा छ, तर सरकारको ध्यान जान सकेको छैन ।


