
चितवनको भरतपुर अस्पताल डुबानमा परेको छ ।
लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुबानमा परेको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरूमा बिरामी भए पनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पुर्यायो भन्ने यकिन हुन नसकेको उनले बताए ।
अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुबानको समस्या हुने भए पनि अस्पताल भित्रै पस्ने समस्या भने कम थियो । ४ वर्षअघि स्टोर कक्षमा पानी पसेको भए पनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । अस्पतालमा धेरै कोभिडका बिरामी हुने भएकाले अन्य बिरामीका लागि सीमित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।
उनले भने, ‘जेनेरेटर लगाएर पानी फाल्दा पनि फाल्ने ठाउँ छैन ।’ पानी पर्न नरोकिएसम्म विकल्प निकाल्नै कठिन भएको अधिकारीले जानकारी दिए ।
बर्सेनि सो क्षेत्रमा डुबानको खतरा हुने भएकाले ढल निकासका लागि र खानेपानीका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा अनुरोध गरिएको छ ।
अधिकारीका अनुसार करीब १२ करोड रुपैयाँ खर्च लाग्ने भएकाले मन्त्रालयमा अनुरोध गरिएको छ ।
अस्पतालसँगै यस क्षेत्रको प्रायः सबै सरकारी कार्यालय डुवानमा परेका छन् । भतरतपुर महानगरपालिका वडा नम्बर १०, ११, १२ र ७ का धेरै क्षेत्र जलमग्न भएका छन् ।