१० साउन २०८३, आइतबार

द्रुतमार्गमा सुरुङको टेन्डर मंसिरभित्र

असोज १०, २०७७
द्रुतमार्गमा सुरुङको टेन्डर मंसिरभित्र
फाइल तस्वीर

अन्तर्राष्ट्रिय परामर्शदाता युसिन इन्जिनियरिङ करर्पोरेसनले काठमाडौं–तराई मधेस द्रुतमार्गमा सुरुङ निर्माण गर्ने ठाउँको सोयल टेस्टिङ (माटो परीक्षण) को काम सकेको छ । असार १ मा परामर्शदाता नियुक्त भएसँगै युसिनले उक्त मार्गको सर्भे थालेको थियो । अहिले माटोको अध्ययन सकेर रिपोर्ट तयार पार्ने काम भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

‘सुरुङ निर्माण गर्ने स्थानको माटो परीक्षण गर्ने काम भएको छ,’ उनले भने, ‘जमिनमा २८ वटा प्वाल पारेर माटो परीक्षणको काम भएको हो, माटोले वेट कति थाम्छ/थाम्दैन भनेर हेरिनेछ ।’ अहिले रिपोर्टको तयार पार्ने काम हुँदै छ । तीन ठाउँमा सुरुङ निर्माण गरिनेछ । त्यस्तै द्रुतमार्गको पहिला डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) मात्र तयार भएको थियो । तर डिजाइनको काम भने छुट्टै बनाउनुपर्ने भएकाले यसको काम भइरहेको उनले बताए । ‘डिजाइनमा यसमा लम्बाइ, चौडाइ, ढुंगा कति हाल्ने, कति माटो राख्नेलगायत प्राविधिक कुरा आउँछन्,’ उनले भने, ‘त्यही भएर परामर्शदाताको पहिलो काम आयोजना डिजाइनको हो ।’

आयोजनाका अनुसार महादेवटार ३ दशमलव ३५५ किमि, धेद्रे १ दशमलव ६३० किमि र लेनडाँडामा १ दशमलव ४३० किमि सुरुङ निर्माण गरिनेछ । भित्रिने र बाहिरिने गरेर साढे १२ किमि सुरुङमार्ग निर्माण गरिनेछ । द्रुतमार्गको दूरी ७२ दशमलव ५ किमि छ । ‘सुरुङको मात्र काम होइन, सुरुङभित्र छिर्ने बेलाको सडक र सँगसँगै पुल पनि पर्छन्,’ उनले भने, ‘त्यसैले यसलाई प्राथमिकतामा राखिएको हो । प्राविधिक रूपमा पनि कठिन तथा लामो समय लाग्ने भएकाले सुरुमै यसको काम थालिएको हो ।’ अरू खण्डको काम बिस्तारै थाल्दै जाने उनले बताए ।

अन्तर्राष्ट्रिय परामर्शदाताको टोलीले सबै फिल्ड र साइट सर्भेको काम गर्ने प्रवक्ता पौडेलले जानकारी दिए । ‘कोभिड–१९ को महामारीका बेला पनि टोली आएर काम गरेका छन्, त्यसैले अब सुरुङ डिजाइनको काम हुनेछ,’ उनले भने, ‘डिजाइन बनेपछि टेन्डर गर्न सजिलो हुनेछ ।’ मंसिरसम्म डिजाइनको काम सकिए सुरुङ निर्माणको टेन्डर गरिनेछ । त्यसका लागि निर्माण कम्पनी छान्न भन्दै प्रिक्वालिफिकेसन (पूर्वयोग्यता निर्धारण) को काम सुरु भइसकेको छ ।

आर्थिक वर्ष ०८०/८१ भित्र आयोजना सम्पन्न गर्नुपर्नेछ । तर अहिलेसम्म मुख्य काम र जटिल रहेको सुरुङ निर्माणको टेन्डर हुन सकेको छैन । ‘अन्तर्राष्ट्रिय परामर्शदाताले डिजाइन दिनासाथ हामी सिधै ठेक्कामा जान सक्छौं,’ उनले भने । आयोजनाले सुरुङ निर्माण गर्ने कम्पनी छान्ने गरी प्रिक्वालिफिकेसनका लागि समेत टेन्डर गर्ने तयारी गरेको छ । ‘प्रिक्वालिफिकेसनमार्फत बढीमा ६ वटा कम्पनीलाई सर्ट लिस्टिङ गर्छौं,’ उनले भने, ‘यसरी छानिएका कम्पनीले टेन्डरमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।’ प्रिक्वालिफिकेसनमा सबै कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन् । ‘प्रिक्वालिफिकेसनबाट त्यस्तो कम्पनी छनोट हुनुपर्‍यो, जसको विश्वसनीयता, क्षमता, विज्ञता सबै कुरा पुगेको होस्,’ उनले भने । टेन्डर गर्नुअघिको बैठक भदौ ३० मा भइसकेको छ । बैठकमा ४० वटा कम्पनीको उपस्थिति थियो ।

‘प्रिक्वालिफिकेसनबाट ६ वटा निर्माण कम्पनी छान्नेछौं,’ पौडेलले भने, ‘त्यसबाट पनि थप एउटा निर्माण कम्पनी छानेर ठेक्का लगाउनेछौं ।’ म्याद, राख्नुपर्ने जमानत र चाहिने डकुमेन्टबारे कम्पनीहरूले सोधेका थिए । असोज १४ सम्म प्रिक्वालिफिकेसनका लागि सहभागी हुन पाउनेछन् । त्यसको सात/आठ दिनभित्र तीनदेखि बढीमा ६ वटा निर्माण कम्पनीलाई सर्टलिस्ट गरिने प्रवक्ता पौडेलले जानकारी दिए । अहिले पहाड कटिङ र माटो फिलिङको काम गर्न बाँकी छ ।

रूख कटानको काम पनि भइरहेको छ । जग्गा अधिग्रहणको बाँकी काम पनि भइरहेको आयोजनाले जनाएको छ । जसअनुसार मकवानपुरअन्तर्गत पर्ने ९९ रोपनी जग्गाको पुर्जा तयार भएको र मुआब्जा वितरणको प्रक्रिया अघि बढाइएको पौडेलले जानकारी दिए । ललितपुरको खोकनातर्फको जग्गाबारे पहल भइरहेको छ । ‘डिजाइजनको काम अन्तर्राष्ट्रिय परामर्शदाताबाट जति छिटो गराउन सकियो, ठेक्कामा जान त्यति नै चाँडो हुन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय परामर्शदाताको काम डिजाइन र कन्स्ट्रक्सन सुपरभिजन हो ।’ डिजाइनका आधारमा प्याकेज–प्याकेजमा टेन्डर गरिनेछ ।

सबैको डिजाइन परामर्शदाताले हेर्नेछन् । सुरुङका दुईवटा प्याकेजमा टेन्डर गरिनेछ । एक नम्बर प्याकेजमा महादेवटार छ । लेनडाँडा र धेद्रेलाई दुई नम्बर प्याकेजमा राखिएको छ । आयोजनाको मुख्य काम नै सुरुङ निर्माण गर्नेछ । त्यसपछि पुलको काम अघि बढाइनेछ । उक्त मार्गमा ८७ वटा पुल निर्माण गर्नुपर्नेछ । जसमध्ये ९ वटा पुल सुरुङको प्याकेजमा पर्छन् । बढीमा ५ सय २० मिटर लामा र ८० मिटर अग्ला पुल निर्माण हुनेछन् । कुल सडकमध्ये १० दशमलव ५९६ किमि पुल रहनेछ । सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट द्रुतमार्ग निर्माण थालिएको हो । कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ । आयोजना निर्माणको काम सञ्चालन गर्न सेनाले विभिन्न १० ठाउँमा क्याम्प छ । कान्तिपुर दैनिकमा खबर  छ ।

salt training

कमेन्ट गर्नुहोस्