
लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गर्नुभएको छ ।
लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गर्नुभएको हो ।
लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजाराँै व्यक्ति घाइते भएका थिए ।
अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो ।
“म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भन्नुभयो ।
“मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उहाँले भन्नुभयो ।
धेरै धार्मिक समूहद्वारा पास भएर सरकार गठन हुने हुँदा लेबनानमा सरकार गठनमा प्रायः महिनौं लाग्छ । यसका लागि विनाशकारी १९७५ देखि १९९० सम्म भएको गृहयुद्धलाई अन्त्य गर्न गरिएका प्रमुख निर्णयहरूमा मुख्य दलहरूबीच सहमति आवश्यक पर्दछ । धेरैथरी धार्मिक समुदाय भएको यो राज्यमा सत्ता समीकरणका लागि भएको सहमतिका कारण सरकार गठन प्रक्रिया झन्झटिलो रहेको छ ।