बलिउडमा लागूऔषध दुर्व्यसनका विषयमा योगगुरु रामदेवले टिप्पणी गरेका छन् ।
उनले अभिनेत्रीहरूलाई योग गर्ने सल्लाह दिँदै भने, ‘बलिउडका युवतीहरू सारा अली खान, श्रद्धा कपूर र दीपिका पादुकोणलाई बिहान बिहानै उल्टो झुण्ड्याइदेऊ । हैन, हैन, फाँसीमा झुण्ड्याऊ भनेको हैन । आफ्नै देशका बच्चा हुन् । यिनीहरूमाथि दया देखाऊ । बिहानबिहान उल्टो भएर शीर्षासन गराऊ यिनीहरूलाई । बिहानबिहानै योग गरे भने नशामा लाग्ने छैनन् । योग गर्न जरूरी छ ।’
आफूले फिल्म उद्योगमा लगभग सबै कलाकारलाई योग सिकाएको तर उनीहरू यसो कहिलेकाहीँ देखाउनका लागि योग गर्छन् भनी रामदेवले टिप्पणी गरे ।
बलिउडमा हेमा मालिनी दिनदिनै योग गर्छिन्, आधा धन्टा कपालभाती र अनुलोम विलोम गर्छिन् । उनी कहिले पनि नशा गर्दिनन् ।
आफूले सिकाएको योगका कारण लाखौं मानिसले लागूऔषध छोडेको बाबा रामदेवले बताए । किसिमकिसिमका लागूऔषध दुर्व्यसनीहरूलाई योगमार्फत नै नशा छुटाएको उनले बताए ।
बिहान बिहान योग गर्दा शरीरमा राम्रो हर्मोनहरू बढ्ने र त्यसैले शरीरलाई आनन्द दिने, लागूऔषध लिइरहनु नपर्ने उनले बताए ।