
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा १० रहेको जनाएको छ ।
आइतवार मन्त्रालयले एक सूचना जारी गरी १० जनाको मृत्यु भएको जनाएको हो ।
मृत्यु हुनेमा बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय २ जना पुरुष, काठमाडौँकी ५० वर्षीया महिला, काठमाडौँकै ६१ र ६२ वर्षीय २ जना पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय २ जना पुरुष र अछामका ३४ वर्षीय पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको १० हजार १२३ पीसीआर परीक्षणमा १५ सय ७३ कोरोना संक्रमित भेटिएको बताए ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । संक्रमितमध्ये ८ हजार ३२१ संस्थागत आइसोलेसनमा छन् भने १० होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ८ सय ८५ रहेको छ ।
संक्रमितमध्ये आइसीयुमा रहेर उपचार गरिरहेकाको संख्या २ सय २५ रहेको छ भने भेन्टिलेटरमा ३३ जनाले उपचार गरिरहेका छन् ।