
कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना सङ्क्रमित बिरामी छन् । यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो ।
सङ्क्रमितहरू स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको हो ।
पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना सङ्क्रमितको उपचार गरिसकेको छ । यसमध्ये १३ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् ।
सङ्क्रमितको सङ्ख्या घटेसँगै अस्पतालले सङ्क्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको छ । पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए ।
यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो सङ्ख्या १५० र ११४ रहेको थियो । अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा सङ्क्रमित राखेको छ । त्यसैगरी पुरानो क्याबिनमा पनि सङ्क्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ ।
अस्पतालको आन्तरिक विभागका श्ययाहरूमा पनि बिरामी भरिन थालेका छन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरू शुरु भएपछि प्रसूति गराउन आउनेहरू लाभान्वित भएका छन् ।
जिल्ला र बाहिरका बिरामीहरूले प्रसूतिका लागि भरतपुर अस्पताल रोज्न गर्दछन् । सबै क्याबिन कोभिडका बिरामीका लागि प्रयोग भएपछि प्रसूति गराउन आउनेहरूले समस्या भोगेका थिए । उनले भने, “अब यहाँ प्रसूति गराउन आउनेहरूको सङ्ख्या अरू बढ्छ ।” अहिले दैनिक ४० जनाको हाराहारीले प्रसूति सेवा लिने गरेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार हाल जिल्लामा रहेका सङ्क्रमितमध्ये अस्पताल र स्थानीय तहका आइसोलेसनहरूमा ३२३ जना छन् । होमआइसोलेसनमा यो सङ्ख्या ६५८ रहेको छ । घरमा बस्दा छिटो निको भएको अनुभव सङ्क्रमितहरूले गरेको उनको भनाइ छ ।
उनले भनिन्, “घरको वातावरण आफू अनुकूल हुने भएकाले सम्भव भएकाहरू घरमा बस्ने क्रम बढेको छ ।” लक्षण देखिएकाहरू मात्रै अस्पताल आउन थालेका छन् । पछिल्ला दिनहरूमा सङ्क्रमितहरूलाई मनोवैज्ञानिक त्रास घटेको छ भने सामाजिक विभेद पनि कम हुँदै गएको छ ।
–––