
सरकारले नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐन संशोधन अध्यादेश ल्याएपछि नेपाल प्रहरीमा ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप हुने भएको छ ।
नेपाल प्रहरीमा हाल रिक्त रहेका ३ डीआईजी र सरकारले थप गरेको ५ दरबन्दीसँगै ८ वटा दरबन्दी खाली भएका छन् ।
हाल मन्त्रिपरिषद्मा पुगेर बसेको थप दरबन्दीको निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने भएको छ ।
८ दरबन्दी खाली भएपछि अहिले बढुवाका लागि दर्जनभन्दा बढी प्रहरी वरिष्ठ उपरीक्षक लागिपरेका छन् । बढुवाका लागि हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजका केही एसएसपी दौडधूपमा लागेका छन् ।
डीआईजीका लागि एसएसपीहरू पुरुषोत्तम कँडेल, गणेश ऐर, डा. देवबहादुर बोहोरा, दिवेश लोहनी, उमेश रन्जितकार, हरिराज वाग्ले, पूजा सिंह, नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ, राजेशकुमार लाल कर्णलगायतले योग्य उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।
प्रहरी महानिरीक्षक थापाले कुनै पनि एसएसपीलाई चलखेल नगर्न आग्रह गरेका छन् भने बढुवामा वरिष्ठता र कार्य दक्षतालाई आधार मानेर बढुवा गर्ने बताउँदै आएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।