
भारतले चीनसँग सीमाविवाद चर्किरहेको अवसरमा अमेरिकामा बनेका राइफलहरू किन्ने योजना बनाएको छ । कुल २२ सय ९० करोड भारुमा किन्न लागेको उक्त राइफलहरूले भारतलाई फाइदा नहुने भनी चिनियाँ विश्लेषकहरूले बताएको कुरा चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ ।
भारतीय सेनाका पछिल्ला कदमहरूले भारत वार्तामार्फत समस्या समाधानमा इमान्दार नरहेको पनि देखाएको विश्लेषकहरूको कथन छ ।
भारतको रक्षा मन्त्रालयले अमेरिकाबाट ७२ हजारवटा सिग साउर असल्ट राइफलहरूको खरिदका लागि अनुमति दिएको छ । चीन र पाकिस्तानसँगको सीमामा खटिएका सैनिकहरूलाई यी राइफल किनिएको भारतीय पत्रिका डेक्कन क्रोनिकलले पहिचान नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमवार समाचार दिएको हो ।
भारतीय सेनाले सन् २०१७ देखि राइफल, हलुका मशिनगन र कार्बाइनहरू किनेर आफ्ना पुराना र बेकामे हतियारहरूलाई हटाउन खोजेको समाचारमा उल्लेख छ ।
यसरी राइफल खरिद गर्दा भारतीय सेना युद्धका लागि पूर्ण रूपमा तयार छैन भन्ने देखिएको एक चिनियाँ सैनयविज्ञले ग्लोबल टाइम्सलाई मंगलवार बताए । भारतले प्राविधिक समस्या भएका इन्सास राइफलको ठाउँमा अमेरिकी राइफलहरू ठूलो मात्रामा किन्न खोजेको छ ।
भारतले रुससँग मिलेर बनाएका हजारौं एके–२०३ असल्ट राइफलहरू पनि सेनामा भित्र्याउन खोजिरहेको छ ।
भारतले संसारभरिबाट हतियार किनेर उपयोग गरिरहेको छ र त्यसक्रममा हतियार व्यवस्थापन गर्न गाह्रो परेकाले उसको सेनामा भार थपिएको ती विज्ञको कथन छ ।
चीन र भारतबीचको शक्ति सन्तुलनमा राइफल जस्ता पैदल सेना हतियारले उल्लेख्य भिन्नता ल्याउँदैन, भारतका केही कमीकमजोरी मात्र पूरा गर्छ, विज्ञले भने ।