
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले काठमाडौंको खुलामञ्चमा शुक्रवार गरीबहरूलाई खाना बाँडेका छन् ।
हाम्रो टीम नेपाल नामक अभियानले सञ्चालन गर्दै आएको निःशुल्क खाना वितरण कार्यक्रममा सहभागी भएर भट्टराईले खाना वितरण गरेका हुन् ।
अभियानले विभिन्न व्यक्तिको स्वतःस्फुर्त आर्थिक सहयोगमा सडकमा रहेका, रोजगारी गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।
सांसद समेत रहेका भट्टराईले गरीब र भोकाहरूलाई निःशुल्क खाना खुवाएकोमा अभियानको प्रशंसा गरे ।
कोभिड– १९ का कारण दैनिक ज्यालादारी काम गर्ने तथा सडकमा मागेर खानेहरूलाई सामाजिक संस्थाले निःशुल्क भोजन गराउँदै आएका छन् ।
संविधान दिवसको दिन टुँडिखेलमा आउने विशिष्ट व्यक्तिलाई डिस्टर्ब हुन्छ भनेर खुलामञ्चमा खाना वितरणमा अवरोध गरिएको भन्दै चौतर्फी विरोध भएको थियो ।