
प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बुटवलमा आन्दोलनमा उत्रिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडकमा ओर्लिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रवार प्रदेश सभामा पेश गरेको प्रस्तावको विरोधमा आन्दोलित नेविसंघले बुटवलमा ३ वटा गाडी तोडफोड समेत गरेको छ ।

आन्दोलनकारीले प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेका हुन् ।
त्यस्तै लु १ झ ४४९ नं. को अर्को एउटा गाडी पनि तोडफोड भएको छ ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन शुरू गरेको बताए ।
कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ ।
प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन ।
आन्तरिक मामिला मन्त्री केसीले प्रदेशको नाम लुम्बिनी तोक्ने प्रस्ताव पेश गरेका छन् ।
राजधानीको विषय लामो समयदेखि विवादमा रहँदै आएको थियो ।

शुक्रवार प्रस्ताव पेश भएपछि सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै दिउँसैबाट बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।