
नेपाली कांग्रेसले बुटवलबाट प्रदेशको राजधानी दाङ सार्ने प्रदेश सरकारको प्रस्तावविरूद्ध शनिवार साँझ बुटवलमा राँके जुलुस गर्ने भएको छ ।
बुटवलका १९ वटै वडा र जिल्लाका विभिन्न ठाउँमा प्रदर्शन गर्ने कांग्रेसले जनाएको हो ।
असोज १८ गते आइतवार रुपन्देही बन्दको घोषणा र प्रस्तावमाथि संसदमा छलफल हुने दिन १९ गते संसद भवन घेराउ गर्ने गरी आन्दोलनमा उत्रिएको कांग्रेस नगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।
कांग्रेस रुपन्देहीको शनिवार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीसँग छलफल अगाडि बढाएको छ ।
स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा कांग्रेसले शुक्रवारदेखि नै आन्दोलनमा उत्रिएको छ । पाण्डेले भने, ‘अन्य प्रदेशका कुनै पनि अस्थायी राजधानी नसारिने बुटवलमा सम्पूर्ण पूर्वाधार कम्युनिस्ट सरकारले बुटवललाई गलत तरिकाले हेर्यो यसको विरुद्धमा आन्दोलनमा होमिनुको विकल्प छैन ।’
राजधानी सार्ने प्रस्तावविरुद्ध नेविसंघले शुक्रवार बुटवलमा सरकारी गाडी तोडफोड समेत गरेको थियो । राजधानी सार्ने निर्णयको बुटवलमा चौतर्फी विरोध भइरहेको छ ।