
बुटवलबाट दाङ प्रदेश राजधानी सार्ने प्रस्तावको निरोधमा प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देही बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ । प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुुर खत्रीले सुरक्षालाई मध्येनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ । मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन । 