
सुडानमा सरकार र विद्रोही समूहबीच शनिवार ऐतिहासिक शान्ति सम्झौता भएको छ ।
यस शान्ति सम्झौताले दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने आशा गरिएको छ ।
उक्त द्वन्द्वमा परी हजारौं मानिसको ज्यान गएको थियो र लाखौं मानिस विस्थापित भएका थिए ।
सुडानमा लामो समयदेखि आर्थिक संकट रहँदा विरोध प्रदर्शनहरू भइरहेका थिए जसले गर्दा सन् २०१९ मा राष्ट्रपति उमर अल–बशीरले सत्ता छोड्नुपरेको थियो ।
त्यतिखेरदेखि अहिलेसम्म देशमा सेना तथा नागरिक नेताहरू मिलेर सत्ता चलाइरहेका थिए अनि विद्रोही समूहलाई सरकारसँग सम्झौता गराउनका लागि कोशिश गरिरहेका थिए ।
प्रदर्शनकारी र सुरक्षाकर्मीहरूका बीच भएका हिंस्रक झडपका खबर आइरहन्थे र कैयौं शवहरू नाइल नदीबाट निकालिन्थे ।
गत अगस्ट महिनामा दक्षिण सुडानको मध्यस्थतामा सुडानका तीन मुख्य समूहहरूले आरम्भिक सम्झौता गरेका थिए ।
शान्ति सम्झौता हस्ताक्षरको अवसरमा इथियोपियाका राष्ट्रपति अनि इजिप्ट र युगान्डाका प्रधानमन्त्रीहरूले उपस्थित थिए । यसमा संयुक्त राष्ट्रसंघका अनेकौं अधिकारी पनि संलग्न थिए ।
शान्ति सम्झौतामा सुरक्षा, भूस्वामित्व, न्यायिक प्रणाली र युद्धबाट विस्थापित भएका मानिसको पुनर्वासका विषयमा सहमति बनेको छ । अनि सशस्त्र विद्रोहीहरूलाई देशको सेनामा समायोजन गर्ने सहमति पनि भएको छ ।