
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको निधन भएको जनाएको छ ।
आइतवार एक सूचना जारी गर्दै मन्त्रालयले ४ जना महिला र ३ जना पुरुषको निधन भएको जनाएको हो ।
मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी ५ दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र कंचनपुरकी २९ वर्षीया महिला रहेका छन् ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ५३ मा कोरोना संक्रमण देखिएको छ भने काठमाडौँ उपत्यकामा मात्र १५ सय ९९ संक्रमित भेटिएका छन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ ।
संक्रमितमध्ये १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ रहेको छ ।
संक्रमितमध्ये काठमाडौँ उपत्यकाको संख्या १५ सय ९९ रहेको छ । काठमाडौँ जिल्लामा १३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जना संक्रमित भेटिएका हुन् ।