
कलंकीकी २९ वर्षीया रमा (नाम परिवर्तन) सीटीईभीटीमार्फत् काठमाडौंको एउटा कलेजमा हेल्थ असिस्टेन्ट (एचए) को दोस्रो वर्षको परीक्षा दिएपछि रिजल्टको पर्खाइमा थिइन् ।
कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि तेस्रो वर्षको पढाइ हुन सकेको थिएन ।
पहिलो वर्षको परीक्षामा उनले सामाजिक र अंग्रेजी विषय पास गर्न सकेकी थिइनन्, यी दुई विषय अनिवार्य पास गर्नुपर्ने हुन्छ ।
कोरोना संक्रमण नफैलिएको भए रमा अहिले तेस्रो वर्षको कक्षा लिइरहेकी हुन्थिन् ।
दोस्रो वर्षको परीक्षाको नतिजा आइसकेको थिएन । बेला–बेलामा उनी सीटीईभीटीको रिजल्टको सूचना दिने अनलाइन हेर्थिन् ।
उनले हेरिराख्ने एक अनलाइनको पेजले सीटीईभीटी अध्ययनरत स्टाफ नर्स र मेडिकल पढ्ने अन्यलाई लक्षित गरेर गत भदौ १७ गते (सेप्टेम्बर २) जूम मिटिङको आयोजना गर्यो ।
त्यसमा देशभरका सयभन्दा बढी नर्सिङका विद्यार्थी सहभागी भए ।
सीटीईभीटीको बोर्ड मेम्बर (सञ्चालक समिति सदस्य) बताउने पसल रोकाया आयोजक र सञ्चालक थिए ।
त्यसै जूम मिटिङमा सहभागी रमालाई फेसबूकमा फ्रेण्ड रिक्वेस्ट आयो ।
फ्रेण्ड रिक्वेस्ट पठाउने उनै रोकाया थिए । यति ठूलो मान्छेले पठाएको रिक्वेस्ट भन्दै उनले तत्कालै एक्सेप्ट गरिन् ।
त्यसपछि उनले रिजल्ट कहिले आउँछ भन्दै सोधिन् । उनले ‘१५/२० दिनमा आउँछ’ भन्दै जवाफ फर्काए ।
त्यसपछि सिम्बोल नम्बरबाट रिजल्ट हेरिदिन आग्रह गरिन् । उनले प्रवेश पत्र चाहिने बताए । उनले प्रवेश पत्र पठाइदिइन् ।
अर्को दिन रोकायाले उनलाई तिमी त प्रथम वर्षमा २ वटा विषयमा फेल भएकी रहेछौ भनेर बताए ।
त्यसपछि रमालाई उनी बोर्ड मेम्बर भएको विश्वास लाग्यो ।
रोकायाले पैसा दिएको खण्डमा पास गराइदिने बताए । उनले रमासँगको च्याटमा भनेका छन् ‘मधेशीले पैसा खाएर गर्छ, यता डिपार्टमेन्टमा कुरा गर्छु, मिलेको खण्डमा काम गर्ने हो ।’

रमा ‘हस्’ भनेर राजी भइन् । नहोउन् पनि किन भर्खर विवाह भएको थियो । श्रीमानले फेल भएको थाहा पाए भने के भन्लान् भन्ने थियो । जसरी पनि पास हुनुपर्ने थियो ।
पहिला उनले सिभिल बैंकमार्फत् २० हजार रुपैयाँ दिइन् । त्यसको केही दिनमा ८० हजार रुपैयाँ सुन्धाराको काठमाडौं मलअगाडि भेटेर दिएको रमाले लोकान्तरलाई बताइन् ।
‘पहिला २० हजार सिभिल बैंकको खातामा हाल्दिएकी हुँ । ३ दिनपछि ८० हजार गरी १ लाख रुपैयाँ दिएकी हुँ,’ उनले लोकान्तरसँग भनिन् ।
रमाले नयाँ–नयाँ विवाह भएकाले आफ्नो श्रीमान्लाई पनि नभनीकन कानमा लगाएको झुम्का बेचेर १ लाख दिएको रुँदै लोकान्तरसँग बताइन् ।

‘श्रीमान्लाई समेत थाहा नदिई कानको झुम्का बेचेर १ लाख दिएकी थिएँ,’ उनले लोकान्तरसँग भनिन् ।
त्यसपछि उनले आफू पास भएको रिजल्ट कहिले आउँछ भन्दै बारम्बार फोन गरिन् । धेरै प्रयास गरेपछि रोकायाले एकपटक फोन उठाए ।
उनले सोधिन्– ‘खै त मेरो पास भएको मार्कसिट ?’ त्यसपछि उनले ‘तपाई विवाहित हो ? भनेर सोधे । रमाले ‘भर्खरै विवाह भएको हो,’ भन्ने जवाफ दिइन् ।
‘त्यसो भए तपाईंको रिजल्ट आउँदैन’ भने । किन भनेर सोध्दासोध्दै उनले फोन काटे ।
आफू ठगिएको थाहा पाएपछि उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन आएकी थिइन् । तर त्यहाँ आउँदा उनी झन झसङ्ग भइन्, रोकायाविरुद्ध जाहेरी दिन ४०/४५ जना आएका थिए ।
यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो ।
साविक पाण्डवगुफा गाविस हाल कनकासुन्दरी गाउँपालिका– ७ रोकाया बडागाउँका स्थायी बासिन्दा पसल रोकायाले सयौं मानिसलाई सामाजिक सञ्जाल फेसबूक, कर्णाली आवाज डट्कम र युट्युब च्यानल कर्णाली एचडीमार्फत् अफवाहपूर्ण भिडियो प्रशारण गर्ने पैसा माग्ने गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
रोकायाले विभिन्न व्यक्तिको नाममा फेसबूक पेज खोल्ने र त्यसबाट आफ्नो वास्तविक फेसबूकको च्याटबाट आफैंले दुवैतर्फ कुराकानी गर्ने र उनीहरू बीचमा भएको कुराकानी भन्दै कर्णाली आवाज डट्कम र कर्णाली एचडीमार्फत् अफवाह फैलाउने गर्दै आएको एसएसपी ज्ञवालीले बताए ।
विषेश गरेर सीटीईभीटीमार्फत नर्सिङ पढ्ने र १/२ वटा विषय फेल भएका व्यक्तिलाई पास गराइदिन्छु भन्दै पैसा असुल्ने गरेको देखिएको छ ।
पैसा लिइसकेपछि त्यो व्यक्तिलाई दुव्र्यवहार तथा ब्ल्याकमेल गर्ने, फेक एकाउन्ट बनाएर अश्लील फोटोहरू अपलोड गर्ने गरेको एसएसपी ज्ञवालीले लोकान्तरलाई बताए ।
काठमाडौंको मोर्गन कलेजबाट विज्ञान संकायमा १२ कक्षा र भारतको बैंग्लोर विश्वविद्यायलबाट ब्याच्लर इन साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएसआईटी) गरेका अभियुक्तले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा आफ्नो नाममा दर्ता गरेको र ठेक्कापट्टा पनि गर्ने गरेको, शुभलक्ष्मी अस्पतालको अध्यक्ष रहेको बताउने गरेको, संविधान कलेज हालसालै दर्ता गरेको (जसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनिएको) खुलेको परिसरले जनाएको छ ।
विन लादेन शैलीमा प्रहरीले समायो
भारतको एउटा कुनामा लुकेर बसेका रोकायाले प्रहरीले आफूलाई ओसामा विन लादेन जस्तै गरी पक्राउ गरेको प्रहरीलाई बताएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले जनाकारी दिए ।
‘मलाई कसैले भेट्टाउने थिएनन् । प्रहरीले ओसामा विन लादेनलाई जस्तै गरि भेट्यो भनेको थियो,’ ती प्रहरी अधिकृतले भने ।
रोकाया आफैंले बनाएको काठको घरमा लुकेको अवस्थामा पक्राउ परेको ती अधिकृतले लोकान्तरलाई बताए ।
यस्तो छ उनको ठगीको विवरण– पढ्नुहोस् विज्ञप्ति :


