
विश्व स्वास्थ्य संगठनका आपतकालीन विभाग प्रमुखले विश्वभर प्रत्येक १० जनामध्ये १ जनामा कोरोना भाइरस संक्रमण भएको हुन सक्ने बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका ३४ जना प्रमुख अधिकारीहरूसँगको छलफलमा बोल्दै आपतकालीन विभाग प्रमुख डा. माइकल रेनले यस्तो बताएका हुन् । ‘तथ्यांक गाउँ र शहरमा फरक छ, मान्छेहरूको समूहमा फरक फरक देखिन्छ तर संसारको ठूलो जनसंख्या उच्च जोखिममा छ,’ उनले भने, ‘प्रत्येक १० मध्ये १ जनामा कोरोना भाइरस संक्रमण भइसकेको जस्तो देखिन्छ ।’
उनको भनाइलाई विश्वास गर्ने हो भने संसार भर ७६ करोड भन्दा बढी जनसंख्या संक्रमित भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । अहिले संगठन र जोन हप्किन्स विश्वविद्यालयको संयुक्त तथ्यांकमा साढे ३ करोडमा कोरोना पुष्टि भइसकेको छ ।
विज्ञहरूले अहिलेसम्म पुष्टि भइसकेको संख्या भन्दा धेरै मानिसमा कोरोनाको संक्रमण भएको हुनसक्ने दाबी गरिरहेका बेला विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीबाट यस्तो धारणा आएको हो ।