
नेपाली सेनाले सुदूर पश्चिम प्रदेशको दार्चुला सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो निर्माण सम्पन्न गरेको छ । बाटो विगत ३ वर्षदेखि अवरुद्ध रहेको व्यास नगरपालिकाका वडा नं. १ का जनतालाई परेको असुविधालाई मध्यनजर गर्दै सेनाले बाटो निर्माण थालेको थियो ।
मुख्य रुपमा नेपाली भूमिमै एक ठाउँबाट अर्को ठाउँमा जान पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउनका लागी सेनाको टोलीले जेष्ठ ८ गतेबाट उक्त गोरेटो बाटो निर्माणको काम जेष्ठ २६ गतेबाट थालेको थियो ।
उक्त बाटो करिब चार महिना भित्र सम्पन्न गरी आज स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषदको वैशाख १४ गतेको निर्णय अनुसार सेनालाई यो बाटो निर्माणको जिम्मेवारी प्राप्त भएको थियो ।

उक्त आयोजना हस्तान्तरणको क्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकार र नेपाली सेनालाई यस्तो कठिन अवस्थामा पनि जनताको माग अनुसार उत्कृष्ट कार्य गरेकोमा सराहना गर्दै धन्यवाद दिए ।