२५ जेठ २०८३, सोमबार

कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १२, हालसम्म ५९० ले गुमाए ज्यान

कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १२, हालसम्म ५९० ले गुमाए ज्यान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको जनाएको छ ।

बिहीवार एक सूचना जारी गर्दै पछिल्लो २४ घण्टामा४ जना महिला र ८ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँकी ७९ वर्षीया महिला, काठमाडौँकै ५८ र ९१ वर्षीय २ पुरुष, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१/८१ वर्षका दुई पुरुष र ९२ वर्षीय अर्का पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ को पीसीआर परीक्षण गरिएको र तीमध्ये ३४ सय ३९ मा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ ।

डा. गौतमले काठमाडौँ जिल्लामा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० संक्रमित फेला परेको बताए ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २६ सय ७५ रहेको छ । नेपालमा हालसम्म ७१ हजार ३ सय ४३ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

सरकारले दशैं तिहारमा सार्वजनिक ठाउँमा लिंगे र रोटेपिङ नहाल्न आग्रह गरेको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका कारण देशको कुनाकाप्चासम्म कोरोना संक्रमण विस्तार हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

'दशैंका बेलामा सार्वजनिक ठाउँमा लिंगे र रोटेपिङ नहालौं,' डा. गौतमले भने ।

उनले यसपालिको दशैमा मन्दिरमा पूजारी मात्र उपस्थित भएर पूरा गर्ने व्यवस्था मिलाउन सबै सरोकारवाला निकाय र संस्थाहरूसँग आग्रह गरेका छन् ।

'दशैंतिहारमा देशको कुनाकाप्चामा संक्रमण फैलिने खतरा छ,' उनले भने, 'सबै ठाउँमा स्वास्थ्य सेवा पहुँच नभएको अवस्थामा परिस्थिति झन् गाह्रो हुन सक्छ । त्यस्तो ठाउँमा संक्रमण व्यवस्थापनको चुनौती छ । त्यसैले सबै तह र तप्काका व्यक्ति र संस्थालाई यसको व्यवस्थापनमा सरिक हुन आग्रह गर्दछौं ।

salt training

कमेन्ट गर्नुहोस्