
प्रदेश नम्बर २ मा ४ घण्टामा कोरोनाको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने १६५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत धनुषाको शहीदनगर नगरपालिका–१ का ७० बर्षीय वृद्धको उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई यही असोज २० गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
सो अवधिमा ३१ महिलासहित १६५ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये धनुषामा २८ , पर्सामा ११, बारामा १४ , महोत्तरीमा सात , रौंतहटमा १८ , सप्तरीमा २५ ,सर्लाहीमा १४ र सिरहामा ४८ जना नयाँ सङ्क्रमित थपिएको हो । यस प्रदेशअन्तर्गतका क्वारेन्टिनमा ९९ जना बसेका छन् भने आइसोलेशनमा ५१२ र होम आइसोलेशनमा ४७५ जना रहेका छन् ।
उता मुलुकभर कोरोनाबाट सङ्क्रमणमुक्त हुने ७२ प्रतिशत पुग्दा कर्णाली आठ प्रतिशतले अगाडि छ । कर्णालीमा आजसम्म आइपुग्दा कोरोना भाइरस रोग लागेका ८० प्रतिशत व्यक्तिहरु सङक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न आइसोलेशनबाट आज मात्रै ५१ सङ्क्रमित निको भएर घर फर्केको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । “आज ५१ जना घर फिर्ता भएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङक्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार २८० पुगेको छ,” उनले भने, “यो कुल कोरोना सङ्क्रमितहरुमा ७२ प्रतिशत हो । आज ६७ मा कोरोना संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार १०४ पुगेको छ ।”
त्यस्तै, यस प्रदेशका विभिन्न आइसोलेशनमा ७१८ सङ्क्रमित रहेको उनले बताए । कर्णालीमा १० जनाको मृत्यु भएको भएको छ ।