
त्रिभुवन विश्वविद्यालय परिसरमा उप-प्राध्यापकमाथि दिनदहाडै आक्रमण भएपछि विश्वविद्यालयका प्राध्यापकहरू आतंकित भएका छन् ।
उप-प्राध्यापकमाथि आक्रमणको घटनाले आफूहरूले असुरक्षित महसूस गरेको त्रिविका एक प्राध्यापकले गुनासो गरेका छन् ।
मानवशास्त्रका उप-प्राध्यापक प्रेम चलाउनेमाथि मंगलवार त्रिवि परिसरमा आक्रमण भएको थियो ।
‘विश्वविद्यालयका प्राध्यापकमाथि यस्तो निर्मम आक्रमण भएको त्रिविको इतिहासमै थाहा थिएन, यस्ता घटना निरूत्साहित हुनुपर्छ,’ एक वरिष्ठ प्राध्यापकले लोकान्तरसँग भने ।
उप-प्राध्यापक चलाउनेमाथि भएको आक्रमणको पेशागत प्राध्यापक संगठनले भर्त्सना गरेको छ ।
त्रिवि प्राध्यापक संघ, विश्व विद्यालय क्याम्पस इकाइले विज्ञप्तिमार्फत विश्वविद्यालय परिसरमा यस्तो घटना हुनु लज्जास्पद् भनेको छ । संघले दोषीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
असुरक्षा बढेको भन्दै बिहीवार त्रिविका प्राध्यापकहरूको भेलाले सुरक्षा माग गर्दै उपकुलपति कार्यालय घेराउ गरेको थियो ।
मानवशास्त्र विभागमा नयाँ प्रमुखको नियुक्तिको विषयलाई लिएर तनाव भइरहेका बेला चलाउनेमाथि आक्रमण भएको अनुमान गरिएको छ ।
‘यो कुनै वैचारिक विषय होइन, गुण्डा लगाएर विश्वविद्यालयका एक प्राध्यापकमाथि आक्रमण भएको घटनालाई आपराधिक रूपमा लिइनुपर्छ’ त्रिविका अर्का एक प्राध्यापकले लोकान्तरसँग भने ।
घटनाका सम्बन्धमा पीडितका तर्फबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिइएको छ ।
आक्रमणमा प्रयोग भएको आशंकामा प्रहरीले एउटा मोटरसाइकल जफत गरेको थियो ।
त्रिवि परिसरको बैंकको एटीएम प्रयोग गरेर निवासतर्फ जानेक्रममा मंगलवार चलाउनेमाथि आक्रमण भएको थियो ।