
प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय स्थापना गर्ने निर्णय गरेको छ । काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन अनुसन्धानमा सघाउ पुर्याउने उद्देश्यले प्रेस संग्रालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
उक्त सङ्ग्रहालयमा संग्रह गर्ने सामानको खोजी प्रारम्भ भैरहेको भन्दै बुढाथोकीले त्यस्ता ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने र निःशुल्क प्राप्त हुन नसकेको खण्डमा खरिद समेत गरी संग्रह गर्ने तय भएको बताए ।
काउन्सिलले सञ्चारसँग सम्बन्धित पुराना उपकरणहरु रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री भए उपलब्ध÷जानकारी गराउन सम्बन्धितलाई आग्रह गरेको छ ।

काउन्सिलबाट किशोर श्रेष्ठले राजीनामा दिएपछि बुढाथोकीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो । आफूले जिम्मेवारी प्राप्त गरेपछि बुढाथोकीले पत्रकारिताको स्वतन्त्रता, स्वायत्तता, स्वच्छता, व्यावसायिकता तथा काउन्सिलको स्वायत्तताको रक्षा र कामकारबाही चुस्त–दुरुस्त बनाउने गरी एक प्रतिवद्धता समेत सार्वजनिक गरिसकेका छन् ।
जसअनुसार उनले प्रेस काउन्सिलबाट प्रवाह हुने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । विशेष गरी कर्णाली, सुदूर पूर्व र सुदूरपश्चिमबाट आउने सेवाग्राहीलाई विशेष प्राथमिकता दिएर अब काउन्सिलले सेवा प्रवाह गन उनको भनाइ छ ।
देशभर सञ्चालित अनलाइन र तिनबाट सम्प्रेषण हुने सामग्रीलाई अझ व्यवस्थित, जन उत्तरदायी र पत्रकार आचारसंहिताको मर्मअनुरूप गराउन ती सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्वेक्षण गर्ने प्रतिबद्धता पनि बुढाथोकीले जनाएका छन्।
यसैगरी युट्युब च्यानलको नियमनका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
यस्तै बुढाथोकीले साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट अलग हुने घोषणा गरिसकेका छन् भने विभिन्न संघ–संस्थासँगको आबद्धता पनि त्यागेका छन् ।