
रुसमा एक चालकले छतविनाकै सु–५७ लडाकू विमान उडाएको असाधारण भिडियो सार्वजनिक भएको छ ।
भ्लादिमिर पुटिनको पछिल्लो युद्धविमानमा अगाडिको विन्डस्क्रीन त छ तर छत चाहिँ छैन । यो घातक विमान १३ सय २० माइल प्रतिघन्टाको गतिमा उड्छ ।
रुसको रक्षा मन्त्रालयले भिडियो सार्वजनिक गरेको हो ।
लडाकू विमानको छत र दायाँबायाँ राखिने प्लेक्सिग्लास कभरले पाइलटलाई कठ्यांग्रिएर मर्नबाट जोगाउँछ ।
आकस्मिक अवस्थामा विमानबाट बाहिर निस्कनुपर्ने प्रक्रियाको परीक्षणका लागि छत नराखिएको हुन सक्छ ।
पाइलटले चिसोबाट बच्नका लागि विशेष किसिमको लुगा लगाएको देखिन्छ ।
रक्षा मन्त्रालयले विमान कति उचाइमा थियो, यसको गति कति थियो र कुन उद्देश्यले उडान गरिएको हो भन्ने विषयमा विस्तृत जानकारी दिएन ।
सु–५७ विमानले आधुनिकीकरण गरिएको आर–७७–१ नामक मध्यमदूरीको आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र समेत बोकेको विश्लेषकहरूले बताएका छन् ।
पहिलोपटक यो क्षेप्यास्त्र भिडियोमा सार्वजनिक भएको हो ।