
कोभिड–१९ गराउने कोरोनाभाइरसको नयाँ मिहिन तस्वीर सार्वजनिक गरिएको छ । यसको चुच्चे आकार र मानव कोशिकासँग यसले गर्ने अन्तर्क्रिया नयाँ तस्वीरमा विस्तृत रूपमा देख्न सकिन्छ ।
कोभिडको उपचार खोजिरहेका वैज्ञानिकहरूका लागि यस तस्वीरले सहायता गर्ने अपेक्षा छ ।
चीनका वैज्ञानिकहरूको टोलीले कोभिड–१९ भाइरसको तस्वीर सार्वजनिक गरेका हुन् । खोप र उपचारका लागि यो कोशेढुंगा साबित हुने बताइएको छ ।
बेइजिङस्थित चिङ्गुआ विश्वविद्यालयमा संरचनागत जीवशास्त्री डा साइ लीले संक्रामक रोग विशेषज्ञहसँग मिलेर यो तस्वीर बनाएका हुन् ।
उनीहरूले भाइरसलाई रसायन हालेर हानिरहित बनाए अनि भाइरसलाई एक थोपोमा परिणत गरे । त्यसलाई लीले छिटो चिस्यानमा पारे अनि साइरो–इलेक्ट्रोन माइक्रोस्कोपमा राखे ।
‘मैले स्क्रीनमा थुप्रै भाइरस देखें,’ लीले द न्युयोर्क टाइम्सलाई बताए । ‘यति राम्रो रिजोल्युसनमा भाइरस देख्ने संसारको पहिलो व्यक्ति म नै हुँ भनी सोचें ।’
लीको कामले वैज्ञानिकहरूलाई भाइरसले कसरी आफ्नो प्रोटीन कोशिकामा पसाउन सफल हुन्छ भन्ने विषयमा जान्न मद्दत पुगेको छ ।
त्यसपछि भाइरसको बांगोटिंगो जिनहरू मानव शरीरको जीवरसायनमा कसरी प्रवेश गर्छन् भनी वैज्ञानिकहरूले सिक्न पाए ।
भाइरसका केही प्रोटीनहरूले हाम्रा कोशिकाहरूमा कसरी विनाश गर्छन् अनि केही अन्यले नयाँ भाइरस बनाउन कसरी काम गर्छन् भनी अनुसन्धाताहरूले निरीक्षण गरेका छन् ।