०८ असार २०८३, सोमबार

बेड नपाएर छटपटिँदै संक्रमित

असोज २७, २०७७
बेड नपाएर छटपटिँदै संक्रमित

रूपन्देहीका कुनै पनि अस्पतालमा आईसीयू बेड खाली नहुँदा बुटवल–११ का कोरोना संक्रमित ८४ वर्षीय पुरुषको दाङको बेलझुन्डी लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । त्यसै दिन स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो । गम्भीर अवस्था भएकाले अस्पतालले आईसीयूमा राख्नुपर्ने बताएपछि उनलाई दाङ रिफर गरिएको थियो ।

दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत रूपन्देहीको तिलोत्तमा–३ की ६६ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भयो । उनलाई पनि लुम्बिनी प्रादेशिक अस्पतालले रिफर गरेपछि शुक्रबार राति बेलझुन्डी पुर्‍याइएको थियो । देवदह नगरपालिका–५ का ८७ वर्षीय एक पुरुषलाई बुधबार खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखियो । परिवारले भोलिपल्ट लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर जाँच गराउँदा कोरोना पोजिटिभ नतिजा आयो । उनको अस्पतालको फिभर क्लिनिकमै अक्सिजन दिएर उपचार सुरु गरिएको छ ।

तर अस्पतालको फिभर क्लिनिक र बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा बेड खाली नभएको भन्दै अन्यत्र लैजान दबाब दिएको संक्रमितका छोराले बताए । अस्पताल नजिकका अन्य दुई कोभिड अस्पतालमा समेत बेड अभाव रहेको जनाएर छिटो सार्न भनेपछि परिवारका सदस्य आत्तिएका छन् । यस्तो अवस्थामा बुबालाई कुनै पनि अस्पतालले भर्ना लिन नमान्ने र टाढा लैजाने अवस्था नरहेको संक्रमितका छोराले गुनासो गरे । ‘हिँड्न सक्नु हुन्न,’ उनले भने, ‘अक्सिजन निकाले स्वास्थ्यमा समस्या हुन्छ । अब कसरी कहाँ लैजाऊँ ?’

एक साताअघि तिलोत्तमा–६ का ४४ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएर पीसीआर परीक्षण गरियो । नतिजा कोरोना पोजिटिभ आयो । बेड नभएपछि उनलाई अन्त लैजान सल्लाह दिए । परिवारका सदस्यले घर लगेर अक्सिजन दिएर होम आइसोलेसनमा राखे । बुधबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई पुनः अस्पतालमा भर्ना गरिएको छ ।

यी त केही उदाहरण हुन्, पछिल्लो समय अस्पतालहरूमा आईसीयू बेड अभाव लगायतका कारण बिरामीहरूले सास्ती खेप्नुपरिरहेको छ । लुम्बिनी प्रदेश सरकारले संक्रमितको उपचारका लागि प्रदेशभरिका कोरोना विशेष भनेर चार अस्पताल छुट्याएर परीक्षण र बिरामी व्यवस्थापनको जिम्मेवारी दिएको छ । प्रदेशमा रहेका मेडिकल कलेजमा समेत संक्रमित बिरामीको उपचार गर्न सरकारले निर्देशन गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, कोरोना अस्पताल बेलझुन्डी दाङ र भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितको उपचार जारी छ । लुम्बिनी मेडिकल कलेज पाल्पा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रूपन्देहीमा पनि संक्रमितको उपचार भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट दैनिक ४ देखि ५ बिरामीलाई रिफर गर्नु परिरहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ‘हामी पनि बाध्य छौं,’ उनले भने, ‘आईसीयू मात्र नभई भेन्टिलेटर चाहिने बिरामीलाई नै अन्त पठाउन परेको छ ।’ यो अवस्थाका बिरामीको स्वास्थ्य नाजुक हुने र यात्रामै प्राण जान सक्ने खतरा हुने भन्दै उनले अक्सिजनजडित र सबै सुविधा भएका एम्बुलेन्स पनि नरहेकाले थप समस्या पर्ने जनाए । कान्तिपुर दैनिकमा सन्जु पौडेलले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्