
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा देखिएको राजनीतिक विवाद समाधानका लागि दोस्रो तहका नेता परिचालन गरेका छन् ।
आफूहरूसँग परामर्श नै नगरी कर्णालीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन गरिएको ओलीको गुनासो छ ।
‘कर्णाली प्रदेशमा पार्टीभित्र देखिएको विवादका विषयमा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, हिजो दुई अध्यक्षबीच यसबारे छलफल भयो,’ नेकपाका एक प्रभावशाली नेताले मंगलवार लोकान्तरसँग भने, ‘हिजो मन्त्रिपरिषद्को बैठकमा पनि प्रधानमन्त्रीज्यूले देशमा बेलाबखत राजनीतिक अराजकता निम्तिन्छ, कर्णालीका साथीहरूले हामीसँग सोध्दै नसोधी के–के गरेछन् भनेर कुरा राख्नु भएको थियो ।’
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि नेकपाका बहुमत सांसदले हस्ताक्षर गरेपछि नेकपाभित्र विवादको नयाँ तरंग सिर्जना भएको थियो ।
अविश्वास प्रस्ताव फिर्ता गराउने विषयलाई लिएर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार छलफल भएको थियो ।
सहमतिको प्रयासका लागि कर्णाली प्रदेशका नेताहरूसँग परामर्श चलिरहेको नेकपाका एक प्रभावशाली नेताले बताए । केही सांसदले नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङलाई फोन गरेर राजीनामा गर्ने कि के गर्ने भनेर सोधेका थिए । ‘पार्टीले विवाद मिलाउन लागेको छ, राजीनामाको कुरा नगर्नुस्,’ नेम्वाङले यस्तो जवाफ फर्काएको स्रोतले बतायो ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले प्रदेश कमिटीमा छलफल गरेर विवाद समाधानका लागि आग्रह गरेको ती नेताले बताए ।
मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर संकलनकर्ता सांसदहरूले मंगलवारका लागि बैठक बोलाएका छन् ।
अविश्वासको प्रस्तावको तयारी भएपछि मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता शाहीले हिजो प्रदेश सभामा नेकपा प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए ।