
असोज २१ साँझ पौने ५ बजेको समयमा रमेश तामाङ र प्रेम तामाङ चाँगुनारायण नगरपालिका– ८ मा रहेको चन्द्रबहादुर योञ्जनको पसलमा पुगे ।
‘आमै बीयर छ ?’ प्रेम तामाङले चन्द्रबहादुरकी श्रीमतीलाई सोधे । चन्द्रबहादुर र उनकी श्रीमती कान्छी योञ्जन पसलपछाडि करेशाबारीमा धनियाँ टिप्दै थिए ।
उनीहरूको सोधाइ देख्दा कान्छीलाई बीयर दिन मन त रहेन छ, तर के गर्नु बाहिरैबाट देख्ने गरी राखिएको थियो ।
‘तिनीहरूको पारा देख्दा त बीयर छैन भनौं जस्तो लागेको थियो, तर देख्ने गरी राखिएको थियो, बुवा (श्रीमान)ले गएर दिनुभयो,’ कान्छी योञ्जनले लोकान्तरसँग भनिन् ।

चन्द्रबहादुर पसलमा गएर एउटा बीयर दिए । उनीहरूले गिलासमा हालेर अलिकति खाए । चुरोट पनि खाए । त्यही क्रममा उनीहरूले आफूहरूसँग ग्राहक आएकाले जग्गा चाहिएको बताए ।
जग्गाको कारोवार समेत गर्दै आएका चन्द्रबहादुरले आफूसँग जग्गा भएको बताए । उनीहरू त्यहाँबाट चाँगुनारायण नगरपालिका– ९ स्थित सुडालमा भएको जग्गा हेर्न पुगे ।
चन्द्रबहादुर जग्गा देखाउन के लाग्दै थिए, प्रेम तामाङ र रमेश तामाङले ‘तैँले शेर्पा दाइको पैसा दिइनस् रे, दिन्छस् कि के भन्छन् ?’ भन्दै कुटपिट गर्न थाले ।
चन्द्रबहादुर, प्रेम र रमेशबीच केही समय हानाहान भयो तर एक्लै रहेका चन्द्रबहादुरको केही चलेन । मरणासन्न हुने गरी कुटिए ।
प्रेम र रमेशको ध्यान चन्द्रबहादुरले लगाएको ब्रासलेटमा गयो । उनीहरूले त्यो पनि थुतेर लगे ।
बेहोश भएका चन्द्रबहादुरलाई पसल नजिकैकी एक जना महिलाले देखिन् र परिवारलाई खबर गरिन् ।
उनी बेहोश अवस्थामा थिए । टाउको र पेटबाट रगत आएको थियो ।
पहिला त चन्द्रबहादुरलाई ठिमी अस्पतालमा लगियो । त्यहाँ उपचार नहुने देखिएपछि अस्पतालले ग्रिनसिटी अस्पतालमा रिफर गर्यो ।
अर्को बिहान अर्थात् असोज २२ गते चन्द्रबहादुरको मृत्यु भएको खबर डाक्टरले बिहान ५ बजे परिवारलाई दिए ।
त्यो बेलासम्म परिवारका कुनै पनि सदस्यले कसले कुटपिट गर्यो ? किन गर्यो ? भन्ने अनुमान समेत लगाउन सकेनन् ।
त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे । प्रहरीले सबै कुरा सोध्दा २ जना युवा आएको र उनीहरूसँगै गएको बताए ।
चन्द्रबहादुरको परिवारले ती दुई युवालाई नचिनेकाले उनीहरू को थिए समेत भन्न सकेनन् ।
प्रहरीले नजिकै भएको सीसीटीभी फूटेज खोज्यो । बल्लबल्ल पसलको बाहिर टेबलमा राखेको मोटर साइकलको हेटमेटको फोटो भेट्टायो ।
हेलमेटमा आरओएक्स लेखिएको ‘क्लू’ फेला पर्यो । त्यसपछि महानगरीय अपराध महाशाखाले त्यसलाई ‘अपरेशन रक्स’ नाम दियो ।
महाशाखाको टोली त्यही क्लूका आधारमा अपराधीहरूको खोजीमा लाग्यो ।
उपत्यकामा भएका सीसीटीभी, टेक्निकल अनुसन्धान र भौतिक अनुसन्धानपछि सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका– २ का २३ वर्षीय रमेश तामाङ र रामेछाप भएका २७ वर्षीय प्रेम तामाङलाई काठमाडौंको बौद्ध क्षेत्रबाट सोमवार पक्राउ गरेको महाशाखाले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै जानकारी दियो ।
‘अनुसन्धान गर्दै जाँदा उनीहरूलाई बौद्ध क्षेत्रबाट पक्राउ गरेका हौं,’ महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने ।

उनीहरूको साथबाट प्रहरीले बा ९६ प ७११४ नम्बरको एनएस २०० मोटरसाइकल र ५४ हजार ६ सय रुपैयाँ बरामद गर्यो । उनीहरूले चन्द्रबहादुरबाट लुटेको सुन १ लाख ५५ हजारमा बिक्री गरेको समेत खुल्यो ।
उनीहरूलाई पक्राउ गरेपछि घटनाको मुख्य कुरो बल्ल प्रहरीले थाहा पायो ।
उनीहरूलाई सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– २ का लेखर्क घर भई हाल काठमाडौं बस्ने शेर्पा भन्ने कामी लामाले चन्द्रबहादुरलाई धम्क्याएर कुटपिट गर्न पठाएका रहेछन्, अर्थात मुख्य योजनाकार कामी लामा भएको खुल्यो ।
कामी र चन्द्रबहादुर सँगसँगै जग्गाको कारोवार गर्दै आएका रहेछन् । त्यही बीचमा एउटा जग्गाको बैना १५/१६ लाख रुपैयाँका विषयमा उनीहरूबीच विवाद भएको रहेछ ।
त्यो पैसाका लागि कामीले रमेश र प्रेमलाई कुटपिट गर्न पठाएको अनुसन्धानमा देखिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।
‘मुख्य योजनाकार शेर्पा भन्ने कामी लामा भएको देखिन्छ,’ एसपी कार्कीले भने, ‘यी २ जना पक्राउ परेपछि मात्र मुख्य कुरा खुल्न आयो ।’
प्रहरी कामी लामालाई चाँगुनारायणबाट पक्राउ गरेको थियो । प्रहरीले आज पत्रकार सम्मेलन गर्दै तीनै जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकल, ५४ हजार ६ सय रुपैयाँ, १ तोला २ लाल सुन र आरओएक्स लेखिएको हेल्मेट बरामद गरेको महाशाखाले जनाएको छ ।

१८ गते नै रेकी
मुख्य योजनाकार कामी तामाङले चन्द्रबहादुर योञ्जनको घर र मानिस चिनाउन असोज १८ गते उनको पसलमा लगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
कामीले प्रेम र रमेशलाई १८ गते परैबाट चन्द्रबहादुरको पसल र उनलाई चिनाएर फर्किएको प्रहरीको प्रारम्भिक बयानमा बताएको प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।
पक्राउ परेपछि थाहा पाए चन्द्रबहादुर मरेको खबर
कुटपिट गरेपछि चन्द्रबहादुरको ब्रासलेट र मोबाइल लुटेर भागेका प्रेम तामाङ र रमेश तामाङ अनि मुख्य योजनाकार कामी लामालाई प्रहरीले पक्राउ गरेपछि मात्र चन्द्रबहादुरको मृत्यु भएको थाहा भएको रहेछ ।
‘चन्द्रबहादुर मरेको खबर उनीहरूले पक्राउपछि मात्र थाहा पाएको देखिएको छ,’ प्रवक्ता कार्कीले लोकान्तरसँग भने ।
हत्यामा संलग्न २ जनाले आफूहरूलाई कामी लामा र अर्को एक जनाले कुटपिट मात्रै गर्न भनेको बताएको प्रहरीले जनाएको छ ।