
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण अभियान शुरू भएको छ ।
यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका वासिन्दाका लागि अब ‘एक घर, एक धारा’ निर्माण गरी खानेपानी उपलब्ध गराउने भएको हो ।
वाग्मती सरकारको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा निर्माण कार्य शुरू भएपछि अब यहाँका वासिन्दाले आगामी पुसदेखि घरघरमा खानेपानी सहितको धारा पाउने भएका छन् ।
सम्झौता अनुसारकै समयावधिभित्र काम सम्पन्न गरी काम भइरहेको रोशी गाउँपालिका–९ का वडाध्यक्ष जनम तामाङले बताए । उनका अनुसार करीब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
‘पुसभित्र जसरी पनि स्थानीय वासिन्दाको घरघरमा खानेपानी पुर्याउने लक्ष्य पूरा गर्नेछौं,’ तामाङले भने, ‘तोकिएको समयमा नै काम सकाउने गरी निर्माण कार्य अगाडि बढिरहेको छ ।’ ३ महिनामा सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
स्थानीय वासिन्दाले अहिलेसम्ममा सामूहिक धाराको पानी उपभोग गर्दै आएका छन् । धेरै घरको सामूहिक धारा हुँदा पानी थाप्न पनि लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा अक्कलबहादुर लामाले बताए । ‘अब एक घर, एक धारा अभियानअन्तर्गत आयोजना सम्पन्न भएपछि हरेकले घरघरमा खानेपानी सहितको धारा पाउने भएका छन्,’ उनले भने, ‘पहिला धारा टोलटोलमा थियो, अब घरघरमा हुने भएको छ ।’
रोशीखोलाको पानी गाउँभन्दा माथि बनाएको ट्यांकीमा तानेर त्यहाँबाट घरघरमा पानी वितरण गर्न लागेको छ । त्यसका लागि अहिले गाउँभन्दा माथि डाँडामा १ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण भइरहेको छ । जसबाट पिन्थलीमा रहेको १६० घरधुरीका वासिन्दा लाभाविन्त हुनेछन् । १ करोड २३ लाख ८९ हजार ६०४ भ्याट बाहेकको आर्थिक सहयोगमा सो आयोजनाको काम धमाधम भइरहेको छ ।
आयोजना जेभी कन्स्ट्रक्सनले २०७७ वैशाख २७ गते सम्झौता गरी काम शुरू गरेको हो । सो आयोजना आगामी पुस १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।
जसमा १० प्रतिशत जनताको सहभागिता रहने छ । ट्यांकीबाट घरघरसम्म लाने पाइप पुर्नका लागि जनश्रमदान गर्न स्थानीय उत्साहित भएका छन् । खानेपानी घरमै आउने भएपछि स्थानीय खुशी छन् ।