०१ असार २०८३, सोमबार

बढ्न थाल्यो सवारी कर्जा

असोज २९, २०७७
बढ्न थाल्यो सवारी कर्जा
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

दशैँको माहोल र बैङ्क तथा अटोमोबाइल कम्पनीका अफरले सवारी कर्जामा ग्राहक तानिन थालेका छन् । तथापि कोरोना सङ्क्रमणको त्रासले विगतका वर्षमा जस्तै दशैँमय वातावरण भने बन्न सकेको छैन ।

चाडबाड आउँदै गर्दा सवारीसाधन बिक्रेतासँगै बैङ्कहरूले पनि आक्रामक र प्रतिस्पर्धी अफर लिएर आएका छन् । नयाँ सवारीसाधन खरिद गर्न चाडपर्वकै समय कुर्ने ग्राहकलाई लक्षित गर्दै बिक्रेता कम्पनीसँगै केही वर्षदेखि बैङ्कहरूले पनि सवारी कर्जामा विशेष योजना नै फर्माउन थालेका हुन् ।

नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले बैङ्कहरूले प्रवाह गर्ने सवारी कर्जा राम्रै गएको बताउनुभयो । कोरानाको कारण सुस्त रहेको कर्जाको माग पछिल्लो समय बढ्दै जानु राम्रै कुरा भएको बताउँदै उहाँले सवारी कर्जा पनि विगतका वर्षमा भन्दा धेरै नघटेको बताए ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालको अनुभवमा पनि पछिल्लो समय सवारीसाधनको व्यवसायमा सुधार आएको छ । उहाँले भन्नुभयो, “कोरोना सन्त्रासमा पनि दशैँका बेलामा यो व्यापार स्वभाविक हो । ”

यतिबेला चार महिनाको व्यापार गर्ने समय भएको भन्दै उहाँले नाडा अटो सो नहुँदा व्यापार भनेजस्तो नभए पनि व्यवसायीलाई राहत भएको जनाए। नाडाका उपाध्यक्ष प्रकाश कपुरीले पनि अहिलेको अवस्थालाई अघिल्लो वर्षभन्दा नराम्रो भन्न नमिल्ने बताए । बैङ्कको प्राथमिकता र दशैँको माहोलले सवारीसाधनको बजारलाई चलायमान बनाउँदै लगेको उनको भनाइ छ ।

कोरोना सङ्क्रमणको असर बढ्दै गएपछि कर्जा मागमा आएको सुस्तताले लगानी बढाउन नसकेका बैङ्कहरूले अहिले घर र सवारी कर्जालाई प्राथमिकता दिँदै आएका छन् । त्यसमा पनि सवारी कर्जा बैङ्कका लागि सबैभन्दा सुरक्षित कर्जाका रूपमा रहँदै आएको छ । बैङ्कहरूले बेस रेटमा नै सवारी कर्जा उपलब्ध गराउन थालेका कारण उपभोक्ताको आकर्षण पनि बढ्दो छ ।

नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको माग बढ्न थालेको बताउनुभयो । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको उहाँको भनाइ छ । बैङ्कर्स सङ्घका अनुसार लकडाउन र निषेधाज्ञाका कारण सुस्त रहेको बैङ्कहरूको कर्जा लगानी पछिल्लो समय बढ्न थालेको छ ।

स्थिर ब्याजदरले बढायो
एक महिना अगाडि राष्ट्र बैङ्कले एकीकृत निर्देशिकामार्फत घर र सवारी खरिदका लागि बैङ्कबाट लिएको कर्जाको ब्याज दरलाई बढाउन नपाइने नीति अवलम्बन गरेसँगै मध्यमवर्गीय ग्राहकसमेत यतातिर तानिएका छन् । बैङ्कहरूले हालसम्म आधार दर (बेस रेट) घटबढ हुनेबित्तिकै ऋणको ब्याज दर पनि घटाउने र बढाउने गर्दै आएका थिए ।

बैङ्कको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर निर्धारण गरिने बेस रेट बढेसँगै बैङ्कहरूले तत्कालै ब्याज दर बढाइहाल्थे । जसमा राष्ट्र बैङ्कले अङ्कुश लगाएसँगै उपभोक्ताले ढुक्कले कर्जा लिन थालेका छन् ।

असोज लागेयता कर्जामा सुधार
निषेधाज्ञा खुलेयता सुधारको क्रममा रहेको बैङ्कहरूको कर्जा प्रवाह असोज लागेपछि झनै सुधारिएको छ । असोज २ देखि १६ सम्म १४ दिनमा बैङ्कहरूको कर्जा प्रवाह माथितिर लागेको छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार असोज २ देखि १६ सम्मको तथ्याङ्क हेर्दा वाणिज्य बैङ्कहरूबाट मात्रै दैनिक दुई अर्ब रुपियाँभन्दा बढीको कर्जा प्रवाह भएको छ ।

असोज २ सम्ममा वाणिज्य बैङ्कहरूले २९ खर्ब १३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेकामा असोज १६ सम्ममा बैङ्कहरूले २९ खर्ब ४६ अर्ब रुपियाँ कर्जा प्रवाह गरिसकेका छन् । बैङ्कहरूको निक्षेप सङ्कलनको सूचक पनि माथि लागेको छ । सो अवधिमा वाणिज्य बैङ्कहरूले ४३ अर्ब रुपियाँ निक्षेप बढाएका छन् ।  गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्