११ असार २०८३, बिहीबार

सिन्धुपाल्चोकका भूकम्पपीडित भन्छन्, ‘भोट हाल्ने बेला झल्झली वैशाख १२ सम्झनेछौं’

कात्तिक २०, २०७४
सिन्धुपाल्चोकका भूकम्पपीडित भन्छन्, ‘भोट हाल्ने बेला झल्झली वैशाख १२ सम्झनेछौं’

सिन्धुपाल्चोक, २७ वैशाख– विक्रम संवत् १९९९ सालमा जन्मेको बताउने ७५ वर्षीया विष्णुमाया गिरी मंगलवार सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका पोखरेको पीपल चौतारामुनि बसिरहेको भेटिइन् ।

मूल सडकको छेवैमा उनी बसिरहेकी थिइन् । वरिपरि रंगीचंगी झण्डा हल्लाउँदै र गीत घन्काउँदै चुनावी प्रचारमा हिँडेका गाडीको लस्कर देखिन्थ्यो । बाटो गुड्ने गाडी र चुनावी प्रचारमा मस्त विभिन्न राजनीतिक दलका नेता कार्यकर्तातर्फ उनको ध्यान केन्द्रित थियो ।

राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसमेत दोहो–याएर उनलाई भेट्न आए । प्रायः सबै दल र उम्मेदवारको एउटै आश्वासन हुन्छ, ‘हामीले जितेमा घर बनाइदिन्छौं ।’ उम्मेदवारहरूका आश्वासनले उनीहरू दिक्क भइसकेका रहेछन् ।

विष्णुमायासहित पीपलको रुखमुनि बसेका पाँचजना स्थानीय महिलाले राजनीतिक दलप्रति आक्रोश व्यक्त गरे ।

भूकम्पको समयमा सहयोग नगरेकोप्रति राजनीतिक दलहरूप्रति उनीहरूको आक्रोश रहेछ ।

‘भूकम्पले सर्वस्व नाश भएको बेला हामी कति दिन यो आँपको रुखमुनि बस्यौं, कोही हामीलाई सहयोग गर्न आएनन्,’ वयोवृद्धा मैया गिरीले भावुक हुँदै भनिन्, ‘अहिले भोट माग्ने बेलामा चाहिँ आमा के सहयोग गरौं भन्दै आएको आयैछन् । काउलो पार्न आएका हुन्, गर्ने केही होइनन् ।’



भूकम्पको समयमा कुनै पनि राजनीतिक दलले आफूहरूलाई नहेरेको र आएको राहत कार्यकर्ताले कुम्ल्याएको उनको गुनासो छ ।

‘भूकम्पको समयमा सहयोग गरेको भए अहिले आँखा चिम्लेर भोट हालिन्थ्यो,’ स्थानीय सरिता गिरीले भनिन्, ‘जसोतसो ऋण धन गरेर छाप्रो बनायौं, अहिले आएर दलहरूको आश्वासन हामीले पत्याउछौं र ?’

चुनाव प्रचारको क्रममा राजनीतिक दलले अहिलेसम्म आएको राहत आफूले नै ल्याएको भन्दै राजनीतिक फाइदा लिन खोजेका छन् ।

सिन्धुपाल्चोकका गाउँहरूमा चुनावी चहलपहल भन्दापनि अहिले वर्षाअघि नै घर बनाउने चटारो छ ।

‘भोट हाल्ने बेलापनि वैशाख १२ गतेको त्यो घटना कसरी बिर्सन सकिएला ? भोट खसाल्न जाँदा वैशाख १२ कै भूकम्प झल्झली आउनेछ,’ स्थानीय गंगा गिरीले भनिन्, ‘त्यसबेला राजनीतिक दल आएनन्, बरू विदेशी ‘कुइरे’ले आएर हामीलाई जस्तापाता दिए ।’



यसअघि संविधानसभा निर्वाचनको समयमा भोट माग्न आएका दलहरू तीन वर्षपछि भोट माग्नकै लागि गाउँ फर्किएको उनले बताइन् ।

‘नेताको व्यवहारले भोट नै नहाली फर्किऊँ कि जस्तो पनि लाग्छ, वैशाख १२ गतेको दिन सम्झेर भोट हाल्छु, कसलाई दिन्छु अहिले केही भन्न सक्दिनँ,’ गंगाले भनिन् ।

चुनावको समयमा आश्वासन दिन आउने र पछि फर्केर नहेर्ने गरेको भन्दै राजनीतिक दलप्रति स्थानीयको आक्रोश देखियो । राजनीतिक दलका नेताहरूप्रति आक्रोश व्यक्त गरेपनि लामो समयपछि हुन लागेको चुनावप्रति भने स्थानीय खुशी देखिए ।

‘लामो समयदेखि हुन नसकेको स्थानीय चुनावले गाउँमा राजनीतिक चहलपहल बढाएको छ,’ स्थानीय कुमार पुरीले भने, ‘राजनीतिक दलप्रति आक्रोश भएपनि चुनावमा सबैले भोट हाल्छन् ।’

कर्मचारीतन्त्रको भरमा चल्दै आएको स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आउँदा आफूहरूका समस्या समाधान हुने स्थानीयको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्