सरकारी स्तरबाट निर्माण थालिएका ठूला आयोजना सम्पन्न हुन वर्षाैं लाग्छ । समयमै सम्पन्न नहुँदा आयोजनाको लागत बढ्दै जाने र दशकभन्दा बढी वर्षसम्म निर्माण सम्पन्न नहुने दृष्टान्त धेरै देख्न–सुन्न पाइन्छ ।
तर रुपन्देहीमा निजी क्षेत्रको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ वर्षमै ग्रीड जडित साढे ८ मेगावाट सौर्य विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरेको छ ।
निजी क्षेत्रको कम्पनीले विद्युत् उत्पादन गरेर बुधवारदेखि राज्यलाई विक्रीवितरण शुरू गरेको छ । रुपन्देहीको सौर्य उत्पादन नेपालकै ठूलो ग्रीड जडित सौर्य विद्युत् उत्पादन गर्ने आयोजना बनेको छ ।
कम्पनीको बुटवल ग्रीड जडित सौर्य आयोजनाले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित २६ विगाहा जग्गामा ३२ हजार सौर्य प्यानल जडान गरेर १ वर्षमै विद्युत् उत्पादन गरी बिक्री थालेको छ । गत वर्ष असोजदेखि निर्माण थालेको कम्पनीले बुधवार सम्पूर्ण काम सम्पन्न गरी नेपाल विद्युत् प्राधिकरणको सियारी गाउँपालिकास्थित अमुवा सवस्टेसनमा विद्युत् जोडेको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले जानकारी दिए ।
लामो लकडाउन र कोरोना भाइरसको महामारीबीच पनि १ वर्षमै आयोजनाले काम सम्पन्न गरेको छ । नेपालले लोकान्तरसँग भने, ‘हामीले गत चैतमै काम सम्पन्न गर्ने तयारी थियो । तर लकडाउनले गर्दा आवश्यक सामानहरू आउन पाएनन् । ढिलै भए पनि १ वर्षभित्र सबै काम सकियो ।’
ग्रीड जडित सौर्य परियोजना भएकाले ब्याट्री नराखी उत्पादित विद्युत् सोझै ट्रान्समिसन लाइनको माध्यमबाट राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ । आयोजनाबाट दिउँसोको समयमा मात्र विद्युत् उत्पादन हुन्छ । आयोजनाको लागत ७१ करोड रुपैयाँ रहेको छ ।
नेपालले थपे, ‘कम्पनीले सोलार फर्म निर्माण गरी शान्ति नमूना माविको २६ विगाहा जग्गा ३० वर्षको लागि लिजमा लिएको छ । जग्गामा २ वर्गमिटरका ३२ हजार प्यानल जडान गरिएको छ । एउटा प्यानको उत्पादन क्षमता ३३० वाट रहेको छ । प्यानलबाट उत्पादन भएको विद्युत्लाई ८५० किलोवाट क्षमताका १० वटा इन्भर्टरबाट डीसी करेन्टलाई एसी करेन्टमा परिवर्तन गर्नेछ । आयोजनाबाट ८५०० किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।’
ट्रान्सफर्मरले ६९० भोल्टको विद्युत्लाई ३३००० भोल्टमा अपग्रेड गरी ग्रीडसँग एकीकृत गर्नेछ । आयोजना स्थलनबाट प्रसारण लाइन सवस्टेसनसम्मको दूरी करीब ८ किलोमिटर छ । आयोजनाबाट वार्षिक १ लाख ४५ हजार युनिट विद्युत् उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादन विद्युत् ७ रुपैयाँ ३० पैसा प्रतियुनिटमा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । आयोजनाले वार्षिक १० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
उत्पादित विद्युत्बाट नेपाल विद्युत् प्राधिकरणमा थप विद्युत् आपूर्ति, ‘लाइन लस’ कम हुने तथा भोल्टेजमा ठूलो सुधार हुने आयोजनाको अपेक्षा छ । दिउँसोमा हुने विद्युत्को ‘पिक’ मागलाई व्यवस्थापनमा सहज हुनेछ । यसरी नेपालमै पहिलो पटक ठूलो क्षमताको सौर्य आयोजना सञ्चालनमा आउँदा नेपालमा सौर्य ऊर्जा उत्पादनको नयाँ आयामको शुरूआत हुनेछ ।
आयोजनाको निर्माण भारतको जीआईटीएसटी कम्पनीले गरेको छ । रिडी हाइड्रोपावरले ऊर्जा क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले विगत २ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले पहिलो आयोजना गुल्मीको रिडी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत् आयोजना निर्माण २०६६ सालमा गरेको थियो । धादिङ, पाँचथर, ताप्लेजुङमा पनि विद्युत् उत्पादन गर्दै आएको छ ।
ऊर्जासँगै कृषि परियोजना ‘एग्रिभोल्टाइक्स’
विद्यालयको २६ विगाहा जग्गा ३० वर्षका लागि वार्षिक ५० लाख रुपैयाँमा कम्पनीले भाडामा लिएको छ । कम्पनीले जग्गा अन्य प्रयोजनका लागि पनि उपयोग गर्दै सोलारका पातामुनि बेसार लगाएको छ । नेपालले जमिनको भरपूर उपयोग गर्न एग्रिभोल्टाइक्स अर्थात् ऊर्जासँगै कृषि परियोजनाको अवधारणाका साथ काम थालिएको बताए ।
जग्गामा कम्पनीले लिनु अगाडि नर्सरीका रूपमा प्रयोग गरिएको थियो । त्यही भएर सोही ठाउँलाई नर्सरी भन्ने नामले पनि चिनिन्छ ।
जसअन्तर्गत सोलार प्यानलबीचको खाली स्थानमा अहिले साढे २ टन बेसार लगाइएको छ । आउँदो वर्ष त्यसलाई बढाएर २५ टन बीउ बेसार रोप्ने र सोबाट २५० टन बेसार उत्पादन गरी बिक्री गरिने छ । नेपालले भने, ‘हामीले सोलार पातामुनिको जग्गा के को लागि प्रयोग गर्न सकिन्छ भनेर अध्ययन गर्यौं । अध्ययनकै क्रममा बेसारलाई प्रत्यक्ष घाम नपर्ने जग्गा राम्रो हुने रहेछ । त्यही भएर बेसार पनि लगायौं ।’
त्यससँगै व्यावसायिक बाख्रापालन गर्ने योजना पनि रहेको नेपालले बताए । ऊर्जा उत्पादनसँगै थालिएको व्यावसायिक कृषिले स्थानीयलाई रोजगारी दिनुका साथै एग्रोभोल्टिज टुरिज्मको पनि विकास गर्नु मुख्य लक्ष्य कम्पनीको रहेको छ ।