
फ्रान्समा प्रहरीले स्वास्थ्यमन्त्री तथा पूर्वप्रधानमन्त्रीको घरमा बिहीवार छापा मारेको छ । कोभिड–१९ व्यवस्थापनमा फौजदारी अनुसन्धानका लागि छापा मारिएको हो ।
स्वास्थ्यमन्त्री ओलिभिएर भेरान, पूर्वप्रधानमन्त्री एडूआर्ड फिलिप्पे तथा अन्य शीर्ष अधिकारीहरूको घरमा बिहान सबेरै छापा मारिएको थियो ।
भाइरसका केसहरू बढेपछि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले प्रमुख शहरहरूमा कर्फ्युको घोषणा गरेको केही समयपछि छापा मारिएका हुन् ।
रोगी, चिकित्सक तथा अन्यले मास्क तथा अन्य उपकरणको अभाव भएको भन्दै अनेकौं उजुरी गरेपछि गत जुलाई महिनादेखि सम्भावित फौजदारी कसूरको अनुसन्धान चलिरहेको छ ।
यस अनुसन्धानमा दोषी ठहर भएकाहरूले दुई वर्षको कारावास सजाय वा जरिवाना तिर्नुपर्ने हुन्छ । तर राष्ट्रपति म्याक्रोंले अभियोजनबाट उन्मुक्ति पाउँछन् ।
भेरान, फिलिप्पे र पूर्व स्वास्थ्यमन्त्री एग्निज बुजीनले विपतसँग लड्न नसकेको आरोप छ । फ्रान्स सरकारले मास्कको अभाव भएको र महामारी व्यवस्थापनमा अनेकौं भूलहरू भएको स्वीकार गरेको छ ।
फ्रान्सको विशेष अदालत कोर्ट अफ जस्टिस अफ द रिपब्लिकले यो अनुसन्धानको अनुमति दिएको हो । यस अदालतले शीर्ष अधिकारीका मुद्दाहरू मात्र हेर्छ ।
अदालतमा एकदमै कम उजुरी पर्ने गर्छन् तर यस वर्ष महामारीका कारण अभूतपूर्व रूपमा ९० वटा उजुरी परे ।