
कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार थप १९ जनाको मृत्यु भएको हो ।
यससँगै कोरोनाले मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९८ आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।
कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राजधानी काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका जानकारी दिए । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ६९२, ललितपुर जिल्लामा १०८ र भक्तपुर जिल्लामा १३४ संक्रमित थपिएका हुन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको प्रवक्ता गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।