२५ असार २०८३, बिहीबार

फालिएका मास्कसँग स्थानीय त्रस्त

फालिएका मास्कसँग स्थानीय त्रस्त
तस्वीर : गोरखापत्र

जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको संख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो ।

चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र  विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड बढिरहेको र कोरोनाको जोखिम बढीरहेको बेला अधिकांशले  मास्क बिना हिँड्डुल गर्ने  र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा स्थानीय बासिन्दा त्रस्त  भएको बेँसीशहर नगरपालिका ७ का विपिन श्रेष्ठले बताए ।

प्रयोग गरी फालिएको मास्कमा थुक, र्‍याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य व्यक्तिलाई सङ्क्रमण हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणमा जिल्लावासी नै जिम्मेवारी तथा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, “प्रशासनले आम नागरिकलाई सचेत रहन, मास्क अनिवार्य प्रयोग गरेर, हिँड्न आग्रह गर्दै आइरहेको छ  तर पनि प्रशासनको बेवास्ता र कोरोना सङ्क्रमणकै बेवास्ता गरेका कारण जिल्लामा थप जोखिम बढिरहेको छ ।”

जतिसुकै सचेतनामूलक सूचना जारी गरेपनि कोरोना सङ्क्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लापरवाही गरिरहेका छन् ।

जिल्लामा बिहीवार बिहानसम्म ११४ महिला र ३६० पुरुष गरी ४७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

यीमध्ये, ८६ महिला र २९६ पुरुष गरी ३८३  सङ्क्रमित निको भइसकेका छन् भने २८ महिला र ६४  पुरुष गरी ९२ जना जिल्लाको विभिन्न आइसोलेसनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्