
कर्णाली प्रदेश सभा र सरकारमा उत्पन्न राजनीतिक संकटको विषयलाई लिएर असन्तुष्ट समूहले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेको छ ।
प्रचण्डको निवास खुमलटारमा शुक्रवार असन्तुष्ट समूहका नेता यामलाल कंडेल लगायतले भेट गरेका हुन् ।
नेता कंडेल र प्रमुख सचेतकको जिम्मेवारी खोसिएका गुलावजंग शाहले प्रचण्डसँग भेटेर कर्णाली प्रदेश सभा र सरकारमा देखिएको समस्याबारे जानकारी गराएका हुन् ।
प्रचण्डले उनीहरूका कुरा गम्भीरता पूर्वक सुनेको र छिट्टै निकास दिने बताएका थिए ।
‘असन्तुष्ट समूहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रति आफूहरूको असन्तुष्टि पनि राख्नुभयो र निकासका लागि आग्रह गर्नुभएको छ’ खुमलटार स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छिट्टै भेटेर निकास दिने तत्परता अध्यक्ष प्रचण्डले पनि देखाउनुभएको छ ।’
कर्णाली सरकारका मुख्यमन्त्री शाहीलाई हटाउन नेकपा सांसदले संसदीय दलमा हस्ताक्षर बुझाएपछि गरेपछि त्यो विवाद केन्द्रसम्म आइपुगेको छ । मुख्यमन्त्री शाहीले हिजै प्रचण्डसँग भेटेर आफ्ना कुरा राखेका थिए ।
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले कर्णालीका दुवै पक्षलाई एकै ठाउँमा राखेर निकास खोज्ने भन्दै काठमाडौं बोलाएका थिए ।
ओली–प्रचण्डबीच आजभोलिमै यसबारे छलफल हुने नेकपा स्रोतले बतायो ।