
काठमाडौं, २७ वैशाख–साढे चार करोड नेपाली रुपैयाँ बराबर अवैध डलरसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंबाट केरुङ तर्फ जान लागेको पर्यटक गाडी नागढुंगामा खानतलासी गर्दा साढे चार करोड नेपाली रुपैयाँ बराबरको अवैध डलरसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाँच जना महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीका अनुसार तीन लाख ४९ हजार अमेरिकी डलर, ६८ हजार युरो, १७ हजार सात सय युआन, ३१ लाख जापानी ऐन, स्वीस फ्य्रांक २ हजार रुपैयाँ बरामद भएको हो । तीवटा गाडीमा जाँच गरिएको मध्ये दुईवटा गाडीबाट उक्त परिमाणको रकम फेला परेको हो ।
गाडीमा रहेका १९ जना नियन्त्रणमा लिई चिनियाँ राजदूतावासलाई जिम्मा लगाइएको छ भने अवैध रकम र पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।