२७ असार २०८३, शनिबार

कर्मचारी बिदाइ गर्दै पाँचतारे होटल

कात्तिक १, २०७७
कर्मचारी बिदाइ गर्दै पाँचतारे होटल
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

कोरोनाको मार खेपिरहेका ठूला होटलले आफ्ना कर्मचारीलाई धमाधम बिदाइ गर्न थालेका छन् ।

पाँचतारे होटलहरूले आगामी डिसेम्बरसम्म आफ्ना कर्मचारीलाई जीवनयापनका लागि स्तरअनुसार चार हजारदेखि १० हजार रुपियाँ मात्र तलबका दिँदै आएका छन् तर डिसेम्बरपछि पनि कोरोना नियन्त्रणमा आएर व्यवसाय सुचारु हुने सङ्केत नदेखेपछि कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा बस्न भन्न थालेका छन् ।

पाँचतारे होटल सोल्टी क्राउन प्लाजाले आगामी जनवरीदेखि लागू हुनेगरी केही कर्मचारीलाई कम्तीमा एक वर्षका बेतलबी बिदामा पठाइने जनाएको छ ।

होटलका मानव संसाधन निर्देशक सर्ज रञ्जितले होटलका १०१ कोठा मात्र सञ्चालनका लागि हाल भएका कर्मचारीको सङ्ख्या अधिक भएकाले थपलाई बेतलबी बिदामा पठाउन लागेको बताए । उनका अनुसार बेतलबी बिदा अवधि होटल व्यापार व्यवसायको भावी परिस्थिति हेर्दै कम्तीमा पाँच वर्षसम्म बढाउन सकिने छ ।

कम्पनीले प्रोत्साहनप्रद बहिर्गमन योजानअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी ९८ जना श्रमिक कर्मचारीलाई बिदा गरिसकेको छ । होटलको मुख्य बजार भारत र युरोपलगायतका देशमा कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएकाले होटल व्यवसाय पुनः पुरानो अवस्थामा फर्कन निकै लामो समय लाग्नसक्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।

दरबार मार्गस्थित होटल अन्नपूर्णले पनि गत २५ गते नै होटल अनिश्चित कालका लागि पूर्ण रूपमा बन्द गरिने भएकाले श्रमिक तथा कर्मचारीलाई आफ्नो हरहिसाब गरेर सेवाबाट अलग हुन आह्वान गरेको छ ।
होटल याक एन्ड यतीका मानव संसाधन व्यवस्थापक रितेश श्रेष्ठ भने होटलले अहिलेसम्म कर्मचारी बिदाइ गर्ने योजना नबनाएको बताए । होटलमा अहिले पनि रेस्टुराँहरू चलिरहेकाले पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताए ।

कार्यकालको थोरै समय मात्र बाँकी भएका र केही स्वास्थ्यका समस्या देखिएका कर्मचारीले भने स्वेच्छिक अवकाश लिएको उनको भनाइ छ । आगामी वर्ष के गर्ने भन्नेमा कुनै निर्णय भइनसकेको र अहिलेसम्म आधिकारिक ट्रेड युनियनसँगको सहमतिमा कर्मचारीलाई तलब उपलब्ध गराउँदै आएको, उहाँले दाबी गर्नुभयो ।

होटल हायात पनि ठूलो मात्रामा कर्मचारी कटौती गर्ने योजनामा रहेको कर्मचारीको दाबी छ । यद्यपि होटलले औपचारिक रूपमा कुनै घोषणा गरिसकेको भने छैन ।

होटलहरूले गर्न थालेका यस्ता निर्णय भने एकतर्फी भएको श्रमिक तथा कर्मचारीले बताउँदै विरोध गर्दै आएका छन् । होटलका ट्रेड युनियन र होटल एसोसिएनसबीच विगतमा भएको सहमतिअनुसार आगामी डिसेम्बरसम्म कर्मचारीलाई होटलको स्तरअनुसार चार हजारदेखि १० हजार रुपियाँसम्म जीवनयापन रकम उपलब्ध गराउने र कसैलाई पनि सेवाबाट अलग नगराउने सहमति भएकोे थियो । 

होटल एसोसिएसन अफ नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले विगतमा हान र ट्रेड युनियनसँगको सहमतिअनुसार नै श्रमिक तथा कर्मचारीलाई जीवनयापन खर्च उपलब्ध गराउँदै आएको बताए । उहाँले डिसेम्बरपछि कसरी अगाडि बढ्ने भन्ने विषय फेरि छलफल गरिने पनि बताए ।

आन्तरिक हवाई उडान सुचारु हुन थालेकाले धेरथोर आन्तरिक पर्यटन भए पनि विस्तार होला कि भन्ने आशा रहेको उनको भनाइ छ । सरकारले अनुमति दिएमा स्वास्थका मापदण्ड अपनाएर केही सेवा सञ्चालन पनि गर्न सकिने उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन काँग्रेस सेवा क्षेत्रका राष्ट्रिय उपाध्यक्ष नेत्रविक्रम थापाले अहिले होटल व्यवस्थापन एकतर्फी रूपमा कर्मचारीलाई सेवाबाट अलग गराउन लागिपर्न थालेको बताए ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष खेमराज खड्काले कुनै पनि होटलले एकतर्फी रूपमा ल्याएको भोलेन्टरी रिटायमेन्ट स्किम (भीआरएस) आफूहरूलाई मान्य नहुने बताए । हाल यस क्षेत्रमा ११ लाख श्रमिक आबद्ध रहेको उनको भनाइ छ । अहिले होटल व्यवस्थापकहरू श्रमिक तथा कर्मचारीलाई मनोवैज्ञानिक रूपमा भविष्य अनिश्चित देखाउँदै सेवाबाट अलग गराउन लागिपरेको उनको आरोप छ । गोरखापत्र दैनिकमा राधा चालिसेले खबर लेखेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्