बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयविरुद्ध मुम्बईको ओशिवारा प्रहरी थानामा बलात्कारसम्बन्धी उजुरी परेको छ । महाअक्षयले एक युवतीलाई बिहेको आश्वासन दिएर गर्भवती बनाइ गर्भपतन गर्न जबरजस्ती गरेको आरोप लागेको छ । मिथुनकी श्रीमती योगितालाई पनि यस प्रकरणमा आरोपी बनाइएको छ । फिल्म क्षेत्रमा काम गर्ने एक कलाकार–मोडलले यी दुई जनाविरुद्ध उजुरी दर्ता गरेको समाचारमा जनाइएको छ ।
पीडित र महाअक्षय २०१५ देखि सम्बन्धमा रहेका थिए भने महाअक्षयले बिहे गर्ने आश्वासन दिँदै ती युवतीसँग शारीरिक सम्बन्ध राख्दै आएका थिए । जब ती युवती गर्भवती भइन् महाअक्षयले उनलाई गर्भपतन गराउन दवाव दिन थाले । उनले अस्वीकार गरेपछि यो प्रकरण मिथुनकी श्रीमतीले समेत थाहा पाएपछि युवतीलाई बेस्सरी धम्क्याएकी थिइन् ।
ओशवारा पुलिस स्टेसनका वरिष्ठ निरीक्ष्क दयानन्द बान्गरले महाअक्षय र उनकी आमा विरुद्ध धारा ३७६(२)(एन), ३२८, ४१७, ५०६, ३१३ र धारा ३४ अनुसार केस दर्ता गरिएको छ । दिल्लीको अदालतको आदेशपछि मुम्बईमा केस दर्ता भएको जनाइएको छ ।