
चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन शुरू भएको छ ।
यो चलचित्र निर्माण घोषणा भएको लामो समय भइसकेको थियो, तर विभिन्न कारणले यसको काम रोकिएको थियो ।
निर्माणपक्षले आज घटस्थापनाबाट छायांकन प्रारम्भ गरेको हो । चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका देख्न सकिनेछ भने चलचित्र ‘डान्स’को कथामा निर्माण हुँदैछ । चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गर्दैछिन्, प्रज्ज्वल शमशेर जवराले निर्माण गर्न लागेका हुन् ।
दशैको लागि केहि दिन काम रोकिएपनि यो प्रोजेक्टको छायांकन तिहारसम्म सकाउने निर्माण पक्षको तयारी छ । काठमाडौं, धरान लगायतका स्थानमा खिच्न लागिएको चलचित्रमा धिरज र जसिताले पहिलोपटक सहकार्य गर्न लागेका हुन् ।
जसिताले यसअघि लिलिबिली र लभ स्टेशनमा काम गरिसकेकी छिन् भने धिरजले ‘इन्टु मिन्टु लण्डनमा’मा मात्रै काम गरेका छन् । तर, एउटै चलचित्रको कामले धिरजलाई राम्रो सम्भावना भएको अभिनेताको रुपमा चलचित्र उद्योगमा हेर्न थालिएको थियो ।